प्रतिपक्षी दलहरूद्वारा तीन सदस्यीय संयन्त्र गठन

  Sampatti News 2024

October 18, 2024

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी लगायतका प्रतिपक्षीदलहरुको बैठक अहिले नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको आह्वानमा यो बैठक बसेको हो ।

 प्रतिपक्षी दलहरूले तीन सदस्यीय संयन्त्र गठन गरेका छन् । नयाँ बानेश्वरमा बसेको बैठकले नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल रहेको कार्यदल गठन गरेको हो ।

समसामयिक राजनीतिक विषय र बाढीपहिरो पछिको अवस्थाबारे छलफल गर्नकालागि अध्यक्ष दाहालले यो बैठक बोलाउनु भएको जनाइएको छ ।

बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जसपा नेपाल लगायतका दलहरुको सहभागिता रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको दल नेकपा एमालेले विवादास्पद व्यवसायी मीनबहादुर गुरुङबाट पार्टी भवन निर्माणकालागि १० रोपनी १४ आना जग्गा दान लिएको विषयलाई लिएर राजनीति तर‌ङ्गीत रहेका बेला बोलाइएको यो बैठकलाई महत्वका साथ हेरिएको छ ।

ओली सरकारको ९० दिनको समिक्षा समेत बैठकमा गरिने बताइएको छ ।

प्रकाशित मिति:October 18, 2024