बुटवल। पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आज पनि अदालतमा उपस्थित हुँदैछन्।
सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने हिजो हाजिरी जमानीमा रिहा भएपनि आजबाट हुने थुनछेक बहसका लागि उपस्थित हुन लागेका हुन्।
हिजो रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई बिहीबार उपस्थित हुने सर्तमा पत्नी निकिता पौडेल र कानुन व्यवसायीको जिम्मा लगाएको थियो ।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा बुधबार रविको बयान सकिसकेको छ ।
कास्की प्रहरी हिरासतमा रहेका बेला पक्राउ पुर्जी पाएपछि यसअघि उनलाई कात्तिक २७ मा बुटवल ल्याएर बयान गराइएको थियो ।
रविसहित ४२ जनालाई अभियुक्त बनाउँदै रूपन्देही जिल्ला अदालतमा आइतबार मात्रै मुद्दा दर्ता गरिएको थियो । सुप्रिम सहकारीको १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको खुलेको थियो । जसमध्ये दुई करोड रुपैयाँ प्रक्रिया पूरा नगरी लामिछानेको नाममा ऋण गएको उल्लेख थियो ।
रविसहितका आरोपीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको मुद्दामा सजाय माग गर्दै मुद्दा दर्ता भएको छ ।