काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले नेपाली विद्यार्थीको मृत्युबारे सरकारले कूटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘भारतको ओडिशास्थित केआईआईटी विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जालमार्फत जानकारीमा आएको छ। यस विषयमा सरकारले कूटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ।’
केआईआईटी विश्वविद्यालयमा कम्प्युटर इन्जिनियरिङ अध्ययनरत तेस्रो वर्षकी नेपाली छात्रा प्रकृति लम्साल आइतबार साँझ होस्टेलको आफ्नै कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।
विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूका अनुसार उनलाई भारतीय विद्यार्थीले अश्लील भिडियोमार्फत पटक–पटक ब्ल्याकमेल गरिरहेको बताइएको छ ।
पीडित छात्राले दुई पटक अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ) मा उजुरी दिए पनि विश्वविद्यालय प्रशासनले बेवास्ता गरेको नेपाली विद्यार्थीहरूले बताएका छन् ।
नेपाली विद्यार्थीहरूले आफूहरूको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकारसँग तत्काल पहल गर्न आग्रह गरेका छन् ।