काठमाडौँ । प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बोलाइएको छ ।
संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डेले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ । सांसद शेरबहादुर कुँवरले ध्यानाकर्षण प्रस्ताव र सांसद राजेन्द्र बजगाईँले जरुरी सार्वजनिक महत्वका प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।
यसैगरी राजेन्द्र बजगाईँले “नेपालका ग्रामीण क्षेत्रमा बाँदर र जंगली सुँगुर (बँदेल) को आतंकबाट खेती बाली नष्ट भई किसानहरूको सुरक्षामा समेत खतरा पैदा भएकाले समस्याको दीर्घकालीन समाधान गर्दै कृषि सुरक्षाको सुनिश्चितता, वन्यजन्तु व्यवस्थापन र वातावरणीय सन्तुलन कायम राख्नका लागि नीति निर्माण र कार्यान्वयनको आवश्यकता भएकोले” भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।