संघीय संसदका दुवै सदनबाट पाँचवटै अध्यादेश स्वीकृत

Nepal Cover
२२ फाल्गुन २०८१, बिहीबार
image

काठमाडौं । राष्ट्रिय सभाले विभिन्न पाँच वटा अध्यादेश स्वीकृत गरेको छ । बिहीबार बसेको बैठकले पाँचै वटा अध्यादेश बहुमतले स्वीकृत गरेको हो ।

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशलाई राष्ट्रिय सभामा बिहीबार निर्णयार्थ प्रस्तुत गरिएको थियो ।  

अब सरकारलाई अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने बाटो खुला भएको छ । गत २ माघमा भूमिसम्बन्धी अध्यादेश जारी भएको थियो । २९ पुसमा सार्वजनिक सेवा र निजी क्षेत्रसँग सम्बन्धित चार वटा अध्यादेश जारी भएका थिए ।

१४ पुसमा सहकारीसम्बन्धी अध्यादेश ल्याएको थियो । १८ माघमा राष्ट्रपतिबाट सबै अध्यादेश जारी भएका थिए । हिउँदे अधिवेशन नभएको बेलामा जारी भएका ६ वटामध्ये पाँच अध्यादेश मात्रै संसद्बाट स्वीकृत भएको हो ।

प्रतिनिधि सभाले बुधबार ती सबै अध्यादेश बहुमतले स्वीकृत गरेको थियो ।