आज सुर्खेत जाँदै प्रधानमन्त्री, यस्तो छ कार्यतालिका

Nepal Cover
२३ फाल्गुन २०८१, शुक्रबार
image

 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज सुर्खेत जाँदै छन् । मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह, कर्णाली प्रदेश सभामा सम्बोधन लगायतका विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली आज सुर्खेत जान लागेका हुन्।

प्रधानमन्त्री ओलीले आज बिहान ११:३० बजे वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा अध्यक्षता ग्रहण गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

समारोहमा स्नातकोत्तर तहमा सर्वोत्कृष्ट तीन वर्षको ब्याजका तीन जलाई कुलपति पदक, स्नातक तहमा सर्वोत्कृष्ट भएका तीन जनालाई उपकुलपति पदक, डीन लिष्टमा परेका स्नातकोत्तर तहका ११ जना र स्नातक तहका १८ जनाले प्रमाणपत्रसहित पदक पाउने छन् । आज तीन हजार ८४१ जना विद्यार्थीहरू दीक्षित हुँदैछन् ।

दीक्षान्त समारोहपछि प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्ने कार्य तालिका छ । प्रदेशसभा सचिव जीवराज बुढाथोकीका अनुसार साढे २ बजे प्रदेशसभामा मुख्यमन्त्री यामलाल कँडेलले प्रधानमन्त्रीको स्वागत गर्नेछन् । लगत्तै प्रदेशसभामा प्रधानमन्त्रीको विशेष सम्बोधन हुनेछ ।

प्रदेशसभालाई सम्बोधन गरेपछि प्रधानमन्त्रीले सानो सुर्खेतमा रहेको मध्यपश्चिम विश्वविद्यालयको इन्जिनियरिङ संकायको भवन उद्घाटन गर्नेछन् । तीन वर्षअघिनै निर्माण सम्पन्न भएर पठन–पाठन भइरहेको भवन प्रधानमन्त्रीले उद्घाटन गर्ने भएका हुन् ।
त्यसपछि उनले कर्णाली प्रदेश सरकारको गौरवको योजना कर्णाली रङ्गशालाको निरीक्षण गर्नेछन्।

आगामी जेठमा १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने तय गरिएको रंगशाला निरीक्षण गर्न उनी चार बजे पुग्ने कार्यक्रम छ । रंगशाला निरीक्षणपछि प्रधानमन्त्री ओली काठमाडौं फर्किने छन्।