काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले नेतृत्वको सरकारका जनविरोधी गतिविधिका कारण प्रतिक्रियावादी शक्तिहरू उत्साहित भएको बताएका छन् ।
नेपाली जनप्रगतिशील मञ्च जापानको दोस्रो साधारण सभालाई आइतबार भर्चुअल रूपमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । अभियानमा जनताको उत्साहपूर्ण सहभागिता रहँदै गर्दा संसद् र स्ववियु निर्वाचनका काममा केन्द्रित हुनु पर्ने कारणले केही दिनका लागि अभियान स्थगित गरिएको उनले बताए । काठमाडौंको राजनीतिक गतिविधिका कारण केही दिनपछि मात्र अभियानलाई निरन्तरता दिने योजना रहेको प्रचण्डले बताएको उनको सचिवालयले जनाएको छ ।
सम्बोधनको क्रममा प्रचण्डले हुलाकी राजमार्ग केन्द्रित माओवादी तराई–मधेश जागरण अभियानले जनतामा माओवादीप्रतिको विश्वास अझ प्रगाढ बनाएको पनि बताएका छन् ।
‘हुलाकी राजमार्गकेन्द्रित तराई–मधेश जागरण अभियानमा सम्पूर्ण पार्टी पंक्ति सक्रिय छ । हामी जनताको घरमा बसी उनीहरूसँगै बसोबास, खानपिन र छलफल गर्दै पार्टी र जनताबीचको सम्बन्ध थप मजबुत बनाउँदै अघि बढिरहेका छौं । यसले जनतामा माओवादीप्रतिको सकारात्मक भावना झन् बढेको छ । जनताले ‘असली पार्टी त माओवादी नै रहेछ’ भन्ने अनुभव गर्न थालेका छन्,’ उनले भने ।