विमानस्थल बाहिर पूर्व राजालाई समर्थकहरुको भब्य स्वागत

Nepal Cover
२५ फाल्गुन २०८१, आईतवार
image

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन् । पोखराबाट आइतबार दिउँसो उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।

काठमाडौं फर्किंदा पूर्व राजा शाहलाई राप्रपा लगायत राजावादीहरुले त्रिभुवन विमानस्थलको आन्तरिक उडान तर्फ भब्य स्वागत गरेका हुन् ।

पूर्वराजालाई स्वागत गर्न ठूलो संख्यमा उनका समर्थक विमानस्थलको मुख्यद्वारा अगाडि भेला भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालगायतका नेता उनलाई स्वागत गर्न भेला भएका छन् । 

राजावादीहरुले सडकका दुवै किनारमा उपस्थित भएर पूर्व राजा शाहको स्वागत गरेका छन् । शाह विमानस्थलबाट सीधै महाराजगञ्जस्थित निर्मल निवास पुग्नेछन् । राजावादीहरु उनलाई पुर्‍याउन   र्‍यालीसहित निर्मल निवाससम्म पुग्ने कार्यक्रम रहेको छ ।

यही फागुन ७ गते पूर्व राजा शाहले आफूलाई साथ दिन आग्रह गरेपछि राजावादीहरु हौसिएका छन् । सरकारले राजावादीहरुको प्रदर्शनलाई ध्यानमा राखेर काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था चुस्त बनाएको छ । अहिले त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल बाहिर हजारौँको संख्यामा समर्थकहरु जम्मा भएका छन् । राजसंस्था समर्थकहरूले ‘हाम्रो राजा, हाम्रो देश, प्राणभन्दा प्यारो छ’, राजा आऊ देश बचाऊजस्ता नाराहरू लगाएका छन ।