March 16, 2025
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसदमै राजतन्त्रको खुला वकालत गरेका छन् । आइतबारको संसद् बैठकमा बोल्दै उनले मदन भण्डारीको हत्या गर्ने मान्छे पत्ता लगाउँछु भन्ने मान्छे देशको प्रधानमन्त्री हुँदा पनि पत्ता नलगाइएको भन्दै आपत्तिसमेत जनाएका छन्।
नेपालमा गणतन्त्र र संघीयता पूर्णरुपमा असफल भइसकेको भन्दै उनले प्रजातन्त्र नमासीकन राष्ट्रपतिको ठाउँमा र राजा ल्याउने उद्घोष गरेका हुन् ।
आज प्रतिनिधि सभा बैठकमा एमाले सांसद रघुजी पन्तले नेपालका राजतन्त्रको बदख्वाइँ गरेपछि शाहीले उठेर प्रतिवाद गर्न खोजेका थिए । तर, सभामुखले उनलाई अनुमति दिएनन् । त्यसपछि आफ्नो पालोमा शाहीले गणतन्त्रको बदख्वाइँ गरेका छन् ।
‘मदन भण्डारी हत्या कसले गर्यो? हत्या गर्नेमान्छे पत्ता लगाउँछु भन्ने मान्छे अहिले देशको प्रधानमन्त्री हुन्छ। मदन भण्डारी हत्याको छानबिन गर्न कसले रोक्यो? यसको जवाफ चाहियो,’ उनले भने। राष्ट्रपति र प्रधानमन्त्री पनि एमालेकै हुँदा र दुई तिहाइकै सरकार हुँदा पनि छानबिन नभएको प्रति उनले जवाफ मागेका हुन्।
साथै, राजतन्त्र प्रति उठेका सवालमा जोड्दै उनले हत्याराहरू माथि पुग्ने अवस्था प्रजातन्त्रमा आएको आरोप लगाउँदै जनताबाट प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री र राष्ट्रपति हुनुपर्ने माग गरेका छन्।
जनताको हितका हुने व्यवस्था बनाउन राष्ट्रपतिको ठाउँमा राजा राखी राजासहितको प्रजातन्त्र आवश्य रहेको उनले बताएका छन्।
प्रकाशित मिति:March 16, 2025