काठमाडौं । फागुनमा देशभर चार हजार चारसय ६८ आपराधिक घटनाका मुद्दा दर्ता भएका छन्। फागुनमा दर्ता भएका आपराधिक घटनाका मुद्दामध्ये सबैभन्दा बढी बैंकिङ कसुरका एक हजार एकसय २७ (२५.२२ प्रतिशत) रहेका छन्। काठमाडौं उपत्यकामा अपराधका घटना बढी घट्नुका साथै सबैभन्दा बढी बैंकिङ कसुरका मुद्दा दर्ता भएकाे नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए।
उनका अनुसार बैंकिङ कसुरमा पनि चेक बाउन्सका मुद्दा धेरै छन् । पछिल्लो समयमा प्रविधिको विकाससँगै सामाजिक सञ्जालको दुरुपयोगबाट हुने अपराधका घटना बढ्दै गएको उनले बताए । बैंकिङ कसुरमा एक हजार १२७ मुद्दा दर्ता भएका छन् । त्यसैगरी, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धका ५२१ अपराधका मुद्दा दर्ता भएका छन् ।
आत्महत्यासम्बन्धी अपराधका ५०१, लागुऔषधसम्बन्धी ४१९, चोरीका २८६, जबर्जस्ती करणीका १६८, ठगीसम्बन्धी १६२, सवारी ज्यान मुद्दा १५४, ज्यान मार्ने उद्योगमा ७१ तथा कर्तव्य ज्यानसम्बन्धी ४२ मुद्दा प्रहरीमा दर्ता भएका छन् ।
काठमाडौं उपत्यकामा एक हजार ३३७ मुद्दा दर्ता भएका प्रवक्ता आचार्यले बताए । मधेश प्रदेशमा ७१५, कोशी प्रदेशमा ६६५, लुम्बिनी प्रदेशमा ६१२, बागमतीमा ३७६, सुदूरपश्चिममा २७९, गण्डकी प्रदेशमा ३२३ तथा कर्णाली प्रदेशमा १६१ आपराधिक घटनाका मुद्दा प्रहरीमा दर्ता भएका प्रहरीले जनाएको छ ।