कुलमानलाई हटाउने निर्णयको विरोधमा अनेरास्ववियूले जलाए ऊर्जामन्त्रीको पुत्ला

Nepal Cover
११ चैत्र २०८१, मंगलवार
image

काठमाडौं । एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पस अगाडि ऊर्जामन्त्री दीपक खड्काको पुत्ला जलाएर विरोध प्रदर्शन गरेका छन् । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको विरोधमा विद्यार्थीहरुले पुत्ला जलाएका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदमुक्त गरी हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको नयाँ कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो। सो निर्णयपछि रत्नपार्क क्षेत्र लगायतका स्थानहरूमा प्रदर्शन हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रहरीको उपस्थिति बढाइएको हो।

घिसिङलाई हटाएको विरोधमा नेकपा (एकीकृत समाजवादी) निकट जनसंगठनले प्रदर्शन गरेको छ। मंगलबार बिहान प्रदर्शनकारीहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको पुत्ला दहनसमेत गरेका थिए।

यसैबीच, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीले घिसिङको हटाइप्रति कडा आपत्ति जनाएका छन्। सत्तारूढ दल नेपाली काँग्रेसभित्रै पनि यस विषयमा चर्को असन्तुष्टि देखिएको छ।

गृह मन्त्रालय स्रोतका अनुसार गृहमन्त्री रमेश लेखकले मन्त्रिपरिषद् बैठकमै घिसिङलाई हटाउने निर्णयको विरोध गरेका थिए। त्यस्तै, काँग्रेस नेता शेखर कोइराला र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माले समेत सरकारको निर्णयको आलोचना गर्दै सार्वजनिक असन्तुष्टि जनाएका छन्।