‘प्रधानमन्त्री ओलीलाई काँग्रेसको पूरा साथ छ’ : देउवा

Nepal Cover
११ चैत्र २०८१, मंगलवार
image

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काँग्रेसको पूरा साथ रहेको बताएका छन्।

मंगलबार बालुवाटारमा आयोजित सुजाता कोइरालाले लेखेको ‘म र मेरो सानोबुवा’ पुस्तक विमोचनमा बोल्दै सभापति देउवाले प्रधानमन्त्री ओलीलाई पार्टीको साथ रहेको बताएका हुन्।

प्रधानमन्त्री ओलीको उपस्थितिमा देउवाले पुरानो सम्बन्ध स्मरण गर्दै भने, ‘प्रधानमन्त्री ओलीजी र म जेलदेखिकै साथी हौं । हामी जेलभित्रकै गोलघरमा पनि सँगै थियौं ।’

उनले कांग्रेस र सरकारबीचको सहकार्य उल्लेख गर्दै थपे, ‘हाम्रो सम्बन्ध राम्रो छ, अहिले पनि राम्रोसँग अघि बढिरहेका छौं । कांग्रेसबाट प्रधानमन्त्रीलाई पूरा समर्थन छ।’

महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र नेता डा. शेखर कोइरालालगायतले कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयप्रति असहमति जनाइरहेका बेला देउवाले भने प्रधानमन्त्री ओलीलाई साथ रहेको स्पष्ट पारे।

देउवाले आफ्नो राजनीतिक यात्रामा गिरिजाप्रसाद कोइरालाको ठूलो योगदान रहेको उल्लेख गर्दै भने, ‘गिरिजाबाबुले मलाई पार्टीबाट निकाल्नुभयो, मैले अर्को पार्टी खोलें। पछि मिलौं भन्नुभयो, फेरि मिल्यौं। त्यही एकताको प्रस्ताव नभएको भए म कांग्रेसको सभापति बन्न सक्दिन थिएँ ।’