संघीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

Nepal Cover
१२ चैत्र २०८१, बुधबार
image

काठमाडौं । संघीय संसदको दुवै सदनका बैठक आज (बुधबार) बस्दैछ । जसअन्तर्गत प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्नेछ । 

प्रतिनिधि सभा बैठकमा बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिनेछ । 

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल कानुन व्यवसायी परिषद् ९दोस्रो संशोधन० विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव समेत प्रस्तुत गर्ने संसद् सचिवालयले जानकारी दिएको छ । 

यस्तै, दिउसो १:१५ मा राष्ट्रिय सभा बैठकमा भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम आयोगको आर्थिक वर्ष २०८०-८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्नेछन् । विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन, २०८१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ ।