रास्वपा सभापति रवि लामिछाने कारागार चलान

  Sampatti News Online

April 7, 2025

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कारागार चलान भएका छन् । 

सोमबार बिहान उच्च अदालत तुलसीपुरको बुटवल इजलासबाट आदेशको मिसिल प्राप्त भएपछि प्रहरीले उनलाई जिल्ला अदालत पेस गरेको थियो । जिल्ला अदालतले थुनुवा पुर्जी दिएपछि लामिछानेको जिल्ला कारागारमा स्वास्थ्य परीक्षण गरिएको थियो । 

स्वास्थ्य परीक्षणपछि लामिछानेलाई कारागार चलान गरिएको जेलर सुरेश भण्डारीले जानकारी दिए । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । 

अदालतको आदेशसँगै लामिछानेलाई शुक्रबार राति नै काठमाडौंको बूढानीलकण्ठस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो । शुक्रबार राति पक्राउ परेका लामिछानेलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा राखेर शनिबार बिहान यती एयरलाइन्सको विमानमार्फत भैरहवा ल्याइएको थियो ।

सार्वजनिक बिदा परेकाले सोमबार मात्रै लामिछानेलाई अदालतमा उपस्थित गराइएको थियो । लामिछानेलाई दुई दिन जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको हिरासतमा राखिएको थियो ।

प्रकाशित मिति:April 7, 2025