पर्सा । वीरगन्जमा दुई समुदायबिचको झडपका कारण स्थिति तनावग्रस्त भएपछि प्रशासनले कर्फ्यु लगाएको छ। पर्सा जिल्ला प्रशासन कार्यालयले आइतबार मध्याह्न १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो।
शुक्रबार साँझ जिल्ला सुरक्षा समितिको आपतकालीन बैठकपछि निर्णय गर्दै प्रशासनले आज साँझ ६:३० बजेदेखि भोलि दिउँसो १२ बजे सम्मका लागि कर्फ्यु लागू गरेको हो । कर्फ्यु आदेश भेडियाही चोक (पूर्व), सिर्सिया पुल (पश्चिम), गण्डक चोक (उत्तर) र शंकराचार्य गेट (दक्षिण) सम्मको क्षेत्रभित्र लागू हुनेछ ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अनुसार उक्त आदेश जारी गरिएको हो । आदेश अनुसार उक्त सिमानाभित्र कसैलाई आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा कुनै प्रकारका भीड जम्मा गर्न निषेध गरिएको छ ।
शोभायात्रा छपकैयाको इदगाह चोकमा पुगेपछि केही सहभागीहरूको गतिविधिलाई लिएर अर्को समूहले आपत्ति जनाएपछि विवाद उत्पन्न भएको थियो । यसै क्रममा झडप चर्किँदा केही स्थानीयवासी र प्रहरी घाइते भएका छन् । घाइतेहरूको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
स्थानीय प्रशासनले स्थिति थप नबिग्रियोस् भनेर सुरक्षाकर्मीको तैनाथी कडा पारिएको जनाएको छ । झडप बारे थप अनुसन्धान भइरहेको छ ।
