ओली–मोदी टेलिफोन वार्ता : आतंकवादविरुद्धको लडाइँमा एकसाथ

Nepal Cover
१० बैशाख २०८२, बुधबार
image

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मुकश्मिरको पहलगाममा भएको आतंकवादी हमलामा संलग्नलाई कठघरामा उभ्याउने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज भएको टेलिफोन वार्तामा मोदीले अपराधीलाई कठघरामा उभ्याउन भारत प्रतिबद्ध रहेको कुरामा जोड दिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

भारतको जम्मु कश्मीरको पहलगाममा मंगलबार आतंकवादीको आक्रमणमा परी एक नेपाली युवासहित २६ जना मारिएपछि दुई देशका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता भएको थियो ।

“आतंकवादविरुद्धको लडाइँमा भारत र नेपाल एकसाथ उभिएका छन्,” दुई देशका प्रधानमन्त्रीको टेलिफोन वार्ताबारे जानकारी दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

प्रधानमन्त्री ओलीले जम्मु कश्मीरमा भएको जघन्य आतंकवादी हमलाको कडा निन्दा गर्न प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेको उनले जनाएका छन् । 

प्रधानमन्त्री ओलीले आतंकवादी आक्रमणमा परी बहुमूल्य जीवन गुमाएहरूप्रति हार्दिक समवेदना प्रकट गरेको उनले बताएका छन् । 

“प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादी हमलामा एक युवा नेपाली नागरिकको मृत्यु भएकोमा समवेदना व्यक्त गर्नुभयो र क्रूर आतंकवादी हमलाका दोषीलाई न्यायको कठघरामा ल्याउन भारत प्रतिबद्ध रहेको कुरामा जोड दिनुभयो,” विदेश मन्त्रालयका प्रवक्ता जयसवालले भनेका छन् ।