विदेशमा आँसु, रगत र पसीना बगाउने प्रवासी श्रमिकहरू नीति तथा कार्यक्रम बाट निकै टाढा : अध्यक्ष प्रचण्ड

Nepal Cover
२२ बैशाख २०८२, सोमबार
image

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारको नीति तथा कार्यक्रममा प्रवासी श्रमिकहरूलाई बेवास्ता गरिएकाप्रति आपत्ति जनाए । ‘प्रचण्ड’ले सरकारको नीति तथा कार्यक्रम यथार्थभन्दा टाढा भएको बताएका छन् ।

यही वैशाख १९ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि आज प्रतिनिधिसभामा धारणा राख्दै अध्यक्ष दाहालले नीति तथा कार्यक्रमलाई औपचारिक र कर्मकाण्डी मात्रै बनाएको आरोप लगाए ।

प्रतिनिधि सभामा बोल्दै उनले विदेशमा पसिना बगाइरहेका लाखौं नेपालीहरूलाई राज्यले नजरअन्दाज गरेको भन्दै प्रश्न गरे, “आँसु, रगत र पसीना बगाउने प्रवासी श्रमिकहरू राज्यको नजरमा सुखी नेपाली होइनन् ?”

अहिलेको आर्थिक संरचना रेमिट्यान्समा टेकेको भएपनि विदेशमा रहेका नेपाली श्रमिकहरू नीति तथा कार्यक्रममा नसमेटिनु दुःखद भएको बताउँदै उनले सरकारको दृष्टिकोणमा गम्भीर प्रश्न उठाएका छन् ।

“सरकारले रेमिट्यान्सको वृद्धिदर देखाएर प्रगति बाँडिरहेको छ, तर त्यो रेमिट्यान्स को पसिनाले आएको हो भन्नेबारे विचार गरिँदैन,” प्रचण्डले भने, “विदेशमा श्रम गरेर पठाएको पैसाको कदर गर्ने, उनीहरू फर्किएपछि सीपको उपयोग गर्ने योजना खै नीति तथा कार्यक्रम?”

उनले अघिल्लो वर्ष नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिएको ‘रेमिट्यान्स उद्यमशीलता कार्यक्रम’ यस वर्ष किन हटाइएको भन्नेमा पनि प्रश्न उठाए । “एक लाख रिटर्नी नेपालीलाई उद्यममा जोड्ने कार्यक्रम नीति तथा कार्यक्रममा अटाउन नसक्नु आफैंमा दुर्भाग्यपूर्ण हो,” उनको टिप्पणी छ ।

अध्यक्ष प्रचण्डका अनुसार १० महिना बितिसक्दा आफु नेतृत्वको सरकारले राखेका रिर्टनी उद्यमशिलता लगायतका कार्यक्रम नचलेको मात्र होइन, यस वर्ष त शीर्षकसम्म हटाइएर प्रवासी श्रमिकलाई अपमानित बनाइएको उनले आरोप लगाए । “वास्तवमा प्रवासी श्रमिकको योगदानलाई आत्मसात गर्ने सोच नै सरकारसँग छैन,” उनले भने ।

उनको आग्रह छ, ‘विदेशमा रहेका नेपालीको श्रम, सीप र बलिदानप्रति सम्मान प्रकट गर्दै तिनको अनुभव र क्षमतालाई उपयोग गर्नेतर्फ राज्य गम्भीरताका साथ अघि बढोस्।’