राससका बास्तोलालाई ‘ऋषि लिला पत्रकारिता’ पुरस्कार

  Sampatti News

October 8, 2020

पोखरा बृद्धाश्रमद्वारा सञ्चालित ‘ऋषि लिला पत्रकारिता पुरस्कार २०७७’ बाट राष्ट्रिय समाचार समिति (रासस) गण्डकी प्रदेश कार्यालयमा कार्यरत पत्रकार हरि बास्तोला पुरस्कृत भएका छन् ।

पत्रकारिताको माध्यमबाट ज्येष्ठ नागरिक तथा सडक मानवबारे निरन्तर आवाज उठाउँँदै आएका बास्तोलालाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको बृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले बताए । पुरस्कारको राशी रु २० हजार रहेको छ ।

नेपाल पत्रकार महासङ्घ कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेल संयोजक तथा पत्रकारहरु माधव पनेरु र दुर्गा अधिकारी सदस्य रहेको प्रतिभा सिफारिस समितिले बास्तोलालाई पुरस्कार प्रदान गर्न सिफारिस गरेपछि बृद्धाश्रमले उनलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

केही दिनमा विशेष समारोहकाबीच सो पुरस्कार बास्तोलालाई प्रदान गरिने अध्यक्ष पराजुलीले जानकारी दिए । अध्यक्ष पराजुलीले आफ्ना माता पिताको स्मरणमा सो पुरस्कार स्थापना गरेका थिए । सो पुरस्कारबाट यसअघि पत्रकार चट्याङ, मास्टर र दीपेन्द्र श्रेष्ठ पुरस्कृत भईसकेका छन् ।

बास्तोला यसअघि गजेन्द्र स्मृति सिर्जनशील पत्रकारिता पुरस्कार, आदित्यध्वज पत्रकारिता पुरस्कार, प्रेस चौतारी कास्की पत्रकारिता पुरस्कार, नेपाल पर्वतारोहण सङ्घबाट सञ्चालित पत्रकारिता सम्मानलगायत पुरस्कारबाट पुरस्कृत भएका थिए । विसं २०४५ मा राससबाट उनले पत्रकारिता शुरु गरेका थिए ।

प्रकाशित मिति:October 8, 2020