काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा मनोजकुमार शर्माको नाम अनुमोदन गरेको छ । संसदीय सुनुवाइ समितिमा मंगलबार प्रस्तावित प्रधानन्यायाधीश शर्मासँगको छलफल सकिएसँगै सुनुवाइ प्रक्रिया टुंगिएको हो।
संसदीय सुनुवाइ समितिबाट नाम पारित भएलगत्तै शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गर्न राष्ट्रपति समक्ष पत्र पठाइनेछ। सरकारले उनलाई आजै (मंगलबार) अथवा ढिलोमा पनि बुधबार बिहानसम्म प्रधानन्यायाधीश नियुक्त गरी पद तथा गोपनीयताको सपथ गराउने तयारी गरेको छ।
त्यही तयारी अनुरुप संसदीय सुनुवाइ समितिले पनि विपक्षी दलहरूको असन्तुष्टिका बीच एकै दिनमा सुनुवाइ प्रक्रिया टुंग्याएको हो। मंगलबार बिहानदेखि बसेको समितिको बैठकले एकै दिनमा १६ वटा उजुरीमाथि विचार, उजुरीकर्ताहरूसँग सवालजवाफ र प्रस्तावित प्रधानन्यायाधीश शर्मासँगको छलफल सम्पन्न गरेको हो।
सुनुवाइ समितिमा सत्ताधारी दलहरूको बहुमत रहेकाले शर्माको नाम अनुमोदन हुने निश्चितप्रायः छ। यसअघि संवैधानिक परिषद्बाट पनि उनी सर्वसम्मत वा बहुमतकै आधारमा सिफारिस भएका थिए। समितिबाट अनुमोदित भई प्रधानन्यायाधीश बनेमा शर्माले उमेर हद (६५ वर्ष) का कारण लामो कार्यकाल सर्वोच्च अदालतको नेतृत्व सम्हाल्ने अवसर पाउने छन्।
अब सर्वोच्चमा न्यायको रथ अगाडि लम्केको छ।बदलिँदो परिस्थितिमा जनभावना अनुसार राष्ट्र निर्माणमा सरकार लम्केको त छदैछ । अब न्यायपालिका लाई थप सकृय बनाउन सबै क्षेत्रको सहयोग जरुरी देखिन्छ। सर्वोच्चमा कार्यरत मुख्य रजिस्ट्रार बिमल पौडेलको दुरदर्शिपुर्ण प्रशासनिक कमान्डले पनि पछिल्लो अवस्था सामान्य बनाउन बल पुगेको देखिन्छ।