काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दास र हलुका सवारी चालक भोगेन्द्र यादवलाई नियन्त्रणमा लिएको छ।
आयोगका अनुसार डा. दासविरुद्ध भ्याक्सिनेटरहरूले सेवा दिएबापत प्राप्त गर्ने भुक्तानी रकमबाट २० प्रतिशत कमिसन मागेको भन्ने उजुरी परेपछि अनुसन्धान सुरु गरिएको थियो।
उक्त उजुरीका आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले राजविराज नगरपालिका–३ स्थित कार्यालय परिसरबाट चालक यादवलाई घुसबापत लिएको ३३ हजार ३५० रुपैयाँसहित नियन्त्रणमा लिएको जनाएको छ। अनुसन्धानका क्रममा यादवको साथबाट स्रोत खुल्न नसकेको थप ४८ हजार ७० रुपैयाँ पनि बरामद गरिएको आयोगले जनाएको छ।
अनुसन्धानका क्रममा टोलीले निमित्त कार्यालय प्रमुख डा. दासको कार्यकक्षबाट विभिन्न रकम उल्लेख भएका चार थान चेक बरामद गरेको छ, जसको कुल रकम १ लाख २९ हजार रुपैयाँ रहेको छ। कार्यकक्षबाट एक थान मोबाइल फोनसमेत बरामद गरिएको आयोगले जनाएको छ।
यस्तै, डा. दासको साथबाट एक थान मोबाइल फोन र १ लाख २५ हजार रुपैयाँ बराबरको एक थान चेकसमेत बरामद भएको आयोगले जनाएको छ।
अख्तियारका अनुसार बरामद भएका नगद, चेक तथा अन्य सामग्री नियन्त्रणमा लिई दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ।