काठमाडौँ । सरकारले गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ।
बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले हालका मुख्यसचिव सुमनराज अर्याल शुक्रबारदेखि अनिवार्य अवकाशमा जाने भएपछि मन्त्रिपरिषद्को बैठकले सचिवहरूमध्येबाट कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो।
कार्की हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रालयमा सचिवका रूपमा कार्यरत छन्।
मुख्यसचिव नेपालको निजामती प्रशासनको सर्वोच्च पद हो। मुख्यसचिवले मन्त्रिपरिषद्का निर्णय कार्यान्वयनको समन्वय, संघीय निजामती प्रशासनको नेतृत्व तथा प्रशासनिक व्यवस्थापनको जिम्मेवारी निर्वाह गर्ने व्यवस्था छ।
निजामती वृत्तमा कामकाजी प्रशासकका रूपमा चिनिने उनी पछिल्लो समय प्रशासन सुधारसँग सम्बन्धित कार्यमा पनि सक्रिय रहँदै आएका छन्।
२०८१ भदौ २० गते सचिवमा बढुवा भएका कार्कीलाई कार्यक्षमता, अनुभव र नेतृत्व क्षमताका आधारमा मुख्यसचिवका लागि उपयुक्त ठानिएको स्रोतको भनाइ छ।