काठमाडौँ । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी शिक्षक पदमा नियुक्ति लिएको आरोपमा एक शिक्षकविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
आयोगले सिरहाको धनगढीमाई नगरपालिका–स्थित जनता माध्यमिक विद्यालय, वेतहा भवानीपुरमा माध्यमिक तह तृतीय श्रेणीका शिक्षकका रूपमा कार्यरत गुन्जेश्वर मण्डलविरुद्ध बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
आयोगका अनुसार मण्डलले शिक्षक पदमा नियुक्ति लिँदा भारतस्थित बिहार अन्तरमाध्यमिक शिक्षा परिषद्, पटनाबाट विज्ञान विषयमा उच्च माध्यमिक तह उत्तीर्ण गरेको तथा चौधरी चरण सिंह विश्वविद्यालय, मेरठबाट विज्ञान विषयमा स्नातक तह उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेका थिए। अनुसन्धानका क्रममा ती दुवै प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको आयोगले जनाएको छ।
नक्कली प्रमाणपत्रका आधारमा माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदमा नियुक्ति लिई ओहदा, तलब तथा अन्य लाभ र सुविधा प्राप्त गरेको देखिएकाले मण्डलविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजायको माग गर्दै आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।
