भैसे–भीमफेदी सडक स्तरोन्नतिको शिलान्यास

  Sampatti News

November 10, 2020

काठमाडौँ । मदनभण्डारी मार्ग अन्तर्गत भैसेदेखि भीमफेदीसम्मको सडकको स्तरोन्नति कार्यको आज शिलान्यास गरिएको छ । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले आज निर्माण कार्यको शिलान्यास गरे ।

प्रदेश सरकारले निर्माण गर्न लागेको पोष्टबहादुर बोगटी सुरुङमार्गको दक्षिणी खण्डको रुपमा यसको स्तारोन्नति गर्न लागिएको हो ।
कूल लागत रु ६३ करोड ७० लाख ६५ हजारमा सडकलाई १० मिटर चौडा पार्ने, नाला निर्माण गर्ने, तारजाली एवं पर्खाल लगाउने तथा कालोपत्रे गरिने प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ । दुईवर्ष भित्र सक्ने गरी हेटौंडाको आशिष डिएस। जेभीले गत असार २४ मा निर्देशनालयसँग ठेक्का सम्झौता गरेको छ । कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री फुँयालले सो सडकको स्तारोन्नति तोकिएको समय भित्रै सम्पन्न हुने बताउनुभयो । उनले कामको गुणस्तर र विकासको द्रुतता सरकारको चाहना भएको धारणा राखे ।

भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले प्रदेश सरकारले सञ्चालन गरेका योजनाको सफलताका लागि गाउँपालिका हदैसम्मको सहयोग र सहकार्य गर्न तत्पर रहेको उल्लेख गर्दै सडक चौडा गर्ने क्रममा विस्थापित हुने झण्डै सय परिवारको उचित व्यवस्थापनमा सघाउन प्रदेश सरकारलाई अनुरोध गरे ।

प्रकाशित मिति:November 10, 2020