काठमाडौ । नेपाल पत्रकार महासंघ अन्तर्गत रहेको साना लगानी मिडिया हकहित तथा संरक्षण समितिको आयोजनामा सूचना तथा प्रबिधि मन्त्री पार्वत गुरुङ लाई १३ बुदे ध्यानाकर्षण पत्र बुझाए लगत्तै पत्रकारका कतिपय रोकिएको समस्याले निकास पाएको छ।यसैबीच सूचना तथा प्रसारण बिभागको पछिल्लो सक्रियताका कारण देश भरिएका सन्चारकर्मी देखी मिडिया हाउसहरुलाई समेत सहजताको अनुभुती गराएको छ। पत्रकार परिचय पत्र र अनलाइन न्युज पोर्टल नवीकरणका लागि काठमाडौँ नै आउनुपर्ने बाध्यता अब देखी हटेको छ । अब सम्बन्धित प्रदेश राजधानीस्थित हुलाक निर्देशनालय वा जिल्ला हुलाक कार्यालयबाट समेत प्रदेशभित्रका प्रेस पास तथा अनलाइन नवीकरण गर्न सकिने छ । सूचना तथा प्रसारण विभागले सूचना जारी गर्दै सो को जानकारी दिएको छ ।
प्रेस पास तथा अनलाइन सञ्चारमाध्यममा प्रदेश भित्र ठेगाना कायम भएका आधारमा सम्बन्धित प्रदेश राजधानीस्थित हुलाक निर्देशनालय वा जिल्ला हुलाक कार्यालयबाटसमेत तपसिलबमोजिम प्रदेशभित्रका प्रेस पास तथा अनलाइन सञ्चारमाध्यम नवीकरण हुने व्यवस्था रहेको विभागले जनाएको छ।
विभागले निकालेको सुचनामा नयाँ प्रेस पासको हकमा भने कागजात सङ्कलन गरी विभागबाट प्रेस पास जारी भई सम्बन्धित निर्देशनालय वा कार्यालयमा पठाइने व्यवस्था यथावत् रहेको उल्लेख गरिएको छ ।
विभागले प्रदेश नम्बर १ को हकमा हुलाक निर्देशनालय, विराटनगर, प्रदेश नम्बर २ को जिल्ला हुलाक कार्यालय धनुषा, बागमती प्रदेशको जिल्ला हुलाक कार्यालय मकवानपुर, गण्डकी प्रदेशको हकमा हुलाक निर्देशनालय कास्की, लुम्बिनी प्रदेशको जिल्ला हुलाक कार्यालय रुपन्देही, कर्णाली प्रदेशको हुलाक निर्देशनालय सुर्खेत र सुदूर पश्चिम प्रदेशको जिल्ला हुलाक कार्यालय कैलाली तोकेको छ ।
विभागले सेवा लिने सेवाग्राहीले प्रत्येक दिन कार्यालय समय बिहान १० बजेदेखि ११ बजेसम्म फोन नम्बर ०१–४११२७१७ मा अनिवार्य सम्पर्क गरी श्रमजीवी पत्रकारको नाम, काम र सम्बन्धित सञ्चारमाध्यमले नाम टिपाउनु पर्ने र फोन सम्पर्क नगरी आउने सेवाग्राहीलाई सेवा प्रवाह नहुने जनाएको छ । नाम दर्ता आगामी सात दिनसम्मका लागि गरिने र पुरानो नाम दर्ता भएकोले पनि पुनः नाम दर्ता गर्नुपर्ने विभागले जनाएको छ ।
त्यसै गरी दिइने सेवाको दैनिक कोटासमेत तोकिएको छ । अनलाइन सञ्चारमाध्यमको हकमा नयाँ जारी दुई र १० वटा नवीकरण, प्रेस प्रतिनिधि प्रमाणपत्ररपरिचयपत्र नयाँ जारी पाँच र नवीकरण १०, स्वतन्त्र पत्रकार नयाँ जारी र नवीकरण एक÷एक र अध्यक्ष, प्रकाशक, प्रबन्ध निर्देशकका नयाँ जारी दुई वटा मात्रै हुनेछ । यस्तै विदेशी सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको हकमा नयाँ जारी र नवीकरण एक÷एक जना र विदेशी पत्रकारलाई भिसा सिफारिस नयाँ जारी तथा नवीकरण एक–एक मात्र हुने विभागले जनाएको छ ।
विभागले सेवा प्रवाहका विभिन्न आठ वटा सर्तहरूसमेत राखेको छ ।
कोभिड–१९ कोसमेत सन्दर्भलाई हेरेर सेवाग्राही र सेवा प्रदायक दुबैलाई जोखिमबाट मुक्त गर्न, ज्येष्ठ पत्रकार, महिला पत्रकार, अपाङ्ग पत्रकार र श्रमजीवी पत्रकारलाई काठमाडौँ आउने, जाने बस्ने विषयमा झन्झट नपरोस् भनेर प्रदेश मुकामस्थित हुलाक निर्देशनालय वा जिल्ला हुलाक कार्यालय आएर सेवा पाउने गरी माननीय मन्त्रीस्तरको निर्णयबाट अधिकार प्रत्यायोजन भएको विभागका महानिर्देशक किरणराज शर्माले सम्पत्ति न्युज लाई बताउनुभयो ।