काउन्सिलका निवर्तमान सदस्य ओझाको बिदाइ

  Sampatti News

November 24, 2020

काठमाडौँ। प्रेस काउन्सिल नेपालले निर्वतमान सदस्य ईश्वरीप्रसाद ओझालाई बिदाइ गरेको छ । चार वर्षअघि काउन्सिल सदस्यमा नियुक्त भएका ओझाको कार्यकाल गत कार्तिक ८ गते सकिएको हो ।

बिदाइ कार्यक्रममा ओझाले तत्कालीन अध्यक्ष बोर्णबहादुर कार्की र निवर्तमान कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको नेतृत्वमा काउन्सिलको संस्थागत श्रीवृद्धि र कर्मचारीको वृत्तिविकासका लागि सक्रियतापूर्वक कार्य भएको बताए। सोचेजति काम गर्न सकिएन कि भन्ने लागिरहेको बताउँदै उनले आफ्नो कामको मूल्याङ्कन इतिहासले गर्ने धारणा समेत राखे ।
काउन्सिलका सदस्य एवं नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले ओझा सरल, सहज स्वभावका रहेको स्मरण गर्दै सहकार्यमा समस्या उठाए पनि समाधानका उपायसमेत दिने गरेको बताए ।
कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले ओझा बौद्धिक, कुटनीतिक शैली अपनाउन सक्ने, काम गर्न सरल, सहज र तर्कसहित प्रस्तुत हुने व्यक्ति भएको बताए । २ वर्ष २ महिना सँगै सहकार्य गरेको स्मरण गर्दै उनले ओझामा संस्थागत रूपमा राजनीतिक आस्थाभन्दा माथि रहेर काम गर्ने क्षमता रहेको विश्लेषण गरे ।
प्रेस काउन्सिल नेपाल कर्मचारी संघका अध्यक्ष सुरेन्द्र मल्लले सदस्य ओझाले कर्मचारीका समस्या र गुनासालाई सौहार्दपूर्ण रूपमा बोर्डमा राखिदिने गरेको बताए ।
काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसालले सहजीकरण भएको उक्त कार्यक्रममा काउन्सिल सदस्यहरू चेतनाथ धमला, दीपक पाण्डे, दुर्गा भण्डारी, संगीता खड्का, वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल, सह–प्रशासकीय अधिकृत रामप्रसाद पोखरेल, उप–प्रशासकीय अधिकृत रामशरण बोहरा, उप–प्रशासकीय अधिकृत राधेश्याम अधिकारी, शाखा अधिकृत गीता पराजुली, शाखा अधिकृत रामेश्वर पराजुली र शाखा अधिकृत विष्णु शर्मा लम्साल लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति:November 24, 2020