यस्तो छ यी पाँच मन्त्रालयको चौमासको प्रगति विवराण्

  Sampatti News

December 8, 2020

काठमाडौँ । विभिन्न मन्त्रालयहरूको चौमासिक प्रगति विवरण प्रस्तुति सहितको राष्ट्रिय विकास समस्या समाधान उपसमितिको बैठक सोमवारदेखि सुरु भएको छ । उपसमितिका अध्यक्ष एवं राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलको अध्यक्षतामा भर्चुअल बैठक सुरु भएको हो । सोमबार बसेको सोही बैठकमा पहिलो दिन भौतिक पूर्वाधार, तथा यातायात, रक्षा, ऊर्जा, जलस्रोत तथा सिँचाई, महिला बालबालिका तथा ज्येष्ठ नागरिक र युवा तथा खेलकुद मन्त्रालयले आफ्नो प्रथम चौमासिक प्रगति विवरण प्रस्तुत गरेका छन् ।

भौतिक पूर्वाधार, तथा यातायात मन्त्रालयको वित्तीय प्रगति ४०.९४ प्रतिशत र भौतिक प्रगति ४२.६६ प्रतिशत पुरा भएको मन्त्रालयका सचिव रविन्द्र नाथ श्रेष्ठले बैठकमा सार्वजनीक गरेका छन् । जस अनुसार सडक विभागको वित्तिय प्रगति ४३ प्रतिशत, भौतिक प्रगति ४६.४ प्रतिशत, रेल विभागको वित्तिय प्रगति २७.६३ प्रतिशत र भौतिक प्रगति २७.६३ प्रतिशत, यातायात व्यवस्था विभागको वित्तिय प्रगति २.३२ प्रतिशत, नेपाल पानी जहाज कार्यालयको वित्तिय प्रगति ०.४७ प्रतिशत र भौतिक प्रगति ०.८४ प्रतिशत रहेको छ ।

त्यस्तै रक्षा मन्त्रालयको वित्तीय प्रगति ३४.५७ प्रतिशत र भौतिक ३३.६३ प्रगति रहेको मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले प्रस्तुत गरेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको वित्तीय प्रगति ६७.७३ प्रतिशत र भौतिक प्रगति ७६.७४ प्रतिशत रहेकोमा ऊर्जा तर्फ वित्तीय प्रगति ७८ प्रतिशत र भौतिक प्रगति ७७.८८ प्रतिशत, जलस्रोत तथा सिँचाई तर्फ वित्तीय प्रगति ४२.६६ प्रतिशत र भौतिक प्रगति ७३.६४ प्रतिशत रहेको सहसचिव नुर मोहम्मद खाँले प्रस्तुत गरेका थिए ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको वित्तीय प्रगति ३०.३८ प्रतिशत भएको सहसचिव बुद्ध गुरुङले प्रस्तुतीकरण गरेका थिए ।

त्यस्तै युवा तथा खेलकुद मन्त्रालयको वित्तीय प्रगति ८५.२२ प्रतिशत र भौतिक प्रगति ९५.१० प्रतिशत पुराभएको सचिव रामप्रसाद थपलियाले प्रस्तुत गरेका थिए ।

बैठकमा सचिवहरूले विकास निर्माणका सवालमा भोग्दै आएका नीतिगत तथा कानुनी समस्या र आफ्नो मन्त्रालयको तर्फबाट राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रस्तुत गर्नुपर्ने एजेण्डा समेत छलफलका लागि प्रस्तुत गरेका थिए ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा पुष्पराज कँडेल, सदस्यहरू डा. कृष्णप्रसाद ओली, डा. दिलबहादुर गुरुङ, डा. उषा झा, मीनबहादुर शाही, डा. रामकुमार फुयाँल, सदस्य सचिव केवल प्रसाद भण्डारी, प्रधानमन्त्री कार्यालय, महालेखा नियन्त्रक कार्यालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग लगायत कार्यालयका सम्बद्ध पदाधिकारीहरूको सहभागिता रहेको थियो । बैठक मङ्सिर २६ गतेसम्म सञ्चालन हुने राष्ट्रिय योजना आयोगका प्रवक्ता मीनबहादुर शाहीले जानकारी दिए ।

प्रकाशित मिति:December 8, 2020