सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु

  Sampatti News

December 27, 2020

काठमाडौँ । काठमाडौं, सप्तरी, रौतहट, चितवन, गुल्मी र मोरङका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ ।
काठमाडौं बुढानिलकण्ठ नगरपालिका–४ स्थित पासिकोट ओरालोमा ना.५ त ६२०८ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री नुवाकोट सूर्यगडी नगरपालिका–२ घर भएकी ४६ वर्षीया बाटुली देबी थापा मगरको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै मगरलाई ठक्कर दिई ट्याक्टर समेत दुर्घटना हुँदा घाइते भएका ट्याक्टर चालक रामेछाप मन्थली–७ बस्ने २५ वर्षीय लबु खड्काको सोही अस्पतालमा उपचार भईरहेको छ ।


यसैगरी काठमाडौं महानगरपालिका–४ सुकेधारा नजिक गोपिकृष्ण पुलमा बा.२६ प ४०२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति धोबी खोलामा खसेर दुर्घटना हुँदा मोटरसाइकल चालक काठमाडौं कपन बस्ने सिन्धुली दुधौली नगरपालिका-५ घर भएका २७ वर्षीय लोक नारायण श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल भारत अस्पताल चावहिलमा उपचारको क्रममा मृत्यु भएको हो ।
सप्तरी शम्भुनाथ नगरपालिका–८ देवधार पुलस्थित सडकमा स.१ त ९९६६ नम्बरको ट्याक्टर र बा.४३ प ६२४१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार उदयपुर गाईघाट देउरी टोल बस्ने २५ वर्षीय अभिषेक चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि युनिक अस्पताल रुपनीतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


यसैगरी सप्तरी बोदेबर्साइन नगरपालिका–९ हैटीमा प्रदेश २–०१–००१ प ७५३३ नम्बरको मोटरसाइकल शनिबार बेलुका दुर्घटना हुँदा मोटरसाइकलमा सवार सप्तरी खडक नगरपालिका-११ बस्ने २२ वर्षीय देबेश चौधरीको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको सप्तऋषि अस्पताल लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने २९ वर्षीय लक्ष्मी चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
रौतहट देवाही गोनाही नगरपालिका–४ दोहर टोल बस्ने २४ वर्षीय गजाधर राय यादवको आफ्नै ईण्डो फार्म कम्पनीको ना.७ त १७५५ नम्बरको ट्याक्टरको ट्रलीले च्यापेर शनिबार साँझ मृत्यु भएको छ । ट्रली मर्मत गर्ने क्रममा ट्याक्टर ट्रली खसेर ट्याक्टर चालक यादवलाई किच्दा गम्भीर घाइते भएका उनको शुकदेवचोकको शिवदर्शन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै घाइते भएका मृतकका दाई ३० वर्षीय शेठ राय यादवको सोही अस्पतालमा उपचार भइरहेको छ ।
चितवन राप्ती नगरपालिका–५ भण्डारा चोकमा ना.१ त ७६७९ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकमा पल्टिएर शनिबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार खैरहनी नगरपालिका–१० बस्ने ४५ वर्षीय महारी महतोको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि जिल्ला अस्पताल भरतपुरतर्फ लैजाने क्रममा बाटैमै मृत्यु भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गुल्मी रेसुङगा नगरपालिका–१३ मसिनो खोलास्थित सडकमा ना.५ ख ३२०४ नम्बरको ट्रकको ठक्करबाट २ जना पैदलयात्रीको आइतबार बिहान घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सोही ठाउँ बस्ने २६ वर्षीय टोपबहादुर रजाली र २३ वर्षीय बालकृष्ण भुजेल रहेका छन् । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


मोरङ पथरीशनिश्चरे नगरपालिका–१० सिबिरडाँडास्थित सडकमा को.२ त ५५८१ नम्बरको ट्याक्टरले मे.११ प ३४३५ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक रतुवामाई नगरपालिका–१० बस्ने ५२ वर्षीय सन्तबहादुर आले मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नोवल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही नगरपालिका–५ बस्ने ४५ वर्षीय शुक्ल मुर्मुको पथरी अस्पताल पथरीमा उपचार भइरहेको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनास्थलमा तत्काल खटिएको स्थानीय प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति:December 27, 2020