कांग्रेस र जसपासँग सहमति हुँदैछ, ओलीलाई एक्ल्याउँछौं:प्रचण्ड

  Sampatti News

February 1, 2021

काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा पुनर्स्थापनाको लागि साझा संघर्ष गर्न नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग सहमति जुट्न लागेको बताएका छन्।

केन्द्रीय सदस्य हरि दाहालका अनुसार सोमबार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले केपी गुटलाई अब एक्ल्याउने र आन्दोलनबाटै कमजोर बनाउने बताएका थिए।

संसद् पुनर्स्थापनासम्बन्धी मुद्दामा अन्य दलहरुसमेत एक ठाँउमा आउने अवस्था बन्दै गएको छ, छलफल पनि भइरहेको छ,’ बैठकमा प्रचण्डले भनेका थिए, ‘केपी गुटलाई आन्दोलनबाट धराशायी बनाउने सहमति हुन लागेको छ।’

उनले प्रदेश १ र वागमती प्रदेशमा कांग्रेससँग मिलेर अघि बढ्ने विषयमा सहमतिउन्मुख रहेको जानकारी दिएका थिए।
प्रदेश १ र वागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गराएका छन्।

ती दुवै प्रदेशका मुख्यमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीनिकट हुन्।

प्रकाशित मिति:February 1, 2021