नेकपा नेत्री रामकुमारी झाँक्री रिहा

Nepal Cover
२९ माघ २०७७, बिहीबार
image

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका केन्द्रीय कमिटी सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । उनलाई प्रहरीले घरमै लगेर छाडिदिने शर्तमा रिहा गरेको हो । राष्ट्रपतिविरुद्ध अशोभनीय अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले उनलाई बिहीबार मध्यान्ह पक्राउ गरेर अपराध अनुसन्धान विभागमा दिनभर राखेको थियो ।

राज्यविरुद्धको अपराधअन्तर्गत दफा ५८ को कसुरमा पक्राउ पूर्जी जारी गरी झाँक्रीलाई नियन्त्रणमा लिइएको थियो । उद्यपी उक्त दफामा राष्ट्रपति वा संसद्लाई धम्की दिन नहुने उल्लेख छ । उक्त दफाको उपदफा ९१० मा कसैले नेपालको राष्ट्रपति वा संसद्लाई संविधान तथा कानूनबमोजिम गर्नुपर्ने कार्यसम्पादन गर्नबाट रोक लगाउन वा बञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्यसम्पादन गर्न बाध्य गराउन नहुने, कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमको दबाब दिन नहुने उल्लेख छ ।

उपदफा २ मा दफा ९१० बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद वा रु ७० हजारसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । अखिल नेपाल महिला सङ्घले झाँक्रीलाई कारवाहीको माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको थियो ।

पक्राउको विरोधमा उहाँका समर्थकले चर्का नाराबाजीसहित प्रदर्शन गरेका थिए । पक्राउ हुनुअघि झाँक्रीले आफूले कानूनको पालना गरेको जिकिर समेत गरेकी थिईन ।