एकीकृत समाजवादी रामेछापको अध्यक्षमा बस्नेत चयन

  Sampatti News

September 27, 2021

रामेछाप । नेकपा (एकीकृत समाजवादी) रामेछापको अध्यक्षमा रमेश बस्नेत चयन भएका छन् ।

पार्टीको असोज ९ गते मन्थलीमा आयोजित भेलाले उनलाई अध्यक्षमा चयन गरेको हो ।

बस्नेत मन्थली नगरपालिकाका मेयर समेत हुन् ।

जिल्ला पार्टी कार्यालयसमेत उद्घाटन गरिएको उक्त भेलामा प्रमुख अतिथि पार्टीका केन्द्रीय उपाध्यक्ष केदार न्यौपाने तथा विशेष अतिथि नेकपा एसका स्थायी कमिटी सदस्य सावित्री भुसाल सहभागी रहेका थिए ।

त्यसैगरी भेलामा अतिथिको रुपमा पोलिटव्युरो सदस्य देवशंकर पौडेल, केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) उपस्थित रहेका थिए ।

कार्यक्रम लालसिंह घिसिङको अध्यक्षता र गणेशबाबु खड्काको सञ्चालनमा सम्पन्न भएको हो।

भेलाले रमेशकुमार बस्नेतको अध्यक्षतामा १२१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।

कमिटीको उपाध्यक्षहरुमा धन योञ्जन र रामबहादुर बुढाथोकी चयन हुनुभएको छ भने युवा नेता लालसिं घिसिङ सचिवमा चयन भएका हुन् ।

भेलाले ८ जनालाई उपसचिवमा चयन गरेको छ ।

उपसचिव हुनेहरुमा गणेशबाबु खड्का, तीर्थलाल श्रेष्ठ, दीपक बुढाथोकी, संगम खड्का, विनोद श्रेष्ठ, प्रकाश कार्की, किरण मोक्तान र किरण कार्की रहेका छन् ।

भेलामा रामेछापका ६४ वटै वडाबाट उपस्थिति रहेको सचिव लालसिंह घिसिङले बताए ।

उनले पार्टीलाई नयाँ ढंगबाट जनताको माझमा स्थापित गर्ने उद्देश्य अनुरुप कार्यक्रममा जनता, कार्यकर्ता र नेताहरु सबैको भूमिका समान रहनेगरी माला र खादाजस्ता आर्थिक व्यवभार हुने कुराहरुको प्रयोग समेत नगरिएको बताए ।

घिसिङले कार्यक्रमको अध्यक्षता गर्ने व्यक्ति मात्रै मञ्चमा बसेर नेकपा एसले जनता, कार्यकर्ता र नेता समान छन् भन्ने सन्देश दिएको र नेकपा एसले अब यही अनुसार पार्टीलाई जनताको बीचमा लैजाने र पार्टी र जनताको सम्बन्ध माछा र पानी जस्तै हुनेगरी आफूहरु अगाडि बढ्ने बताए ।

यता भेलामार्फत निर्वाचित अध्यक्ष बस्नेतले समाजवादी समाज निर्माण गर्ने नेकपा एसको योजना अनुसार आफूहरु अगाडि बढ्ने बताए ।

उनले पार्टीको बैठक बसेर आगामी कार्यक्रम तय गर्ने भन्दै समाजवादी समाज निर्माणमा नेकपा एसले नेपालको इतिहासमै कोसेढुंगा सावित गर्ने बताए ।

यसअघिका पार्टीहरुले जनताको कुरा गर्ने तर जनताका सरोकारका कुनै पनि समस्या समाधान नगर्ने परिपाटी रहेको भन्दै नेकपा एसले जनसरोकारका विषय उठाउने र पार्टी सधैभरि जनतासँगै रहने बताए ।

नेकपा एसलाई मुलुककै जनताको प्रमुख र लोकप्रिय पार्टी बनाउने

उनले रामेछापमा मात्रै होइन नेकपा एसलाई मुलुककै जनताको प्रमुख र लोकप्रिय पार्टी बनाउने समेत बताए।

नेकपा एमालेबाट विद्रोह गर्दै माधव कुमार नेपालको नेतृत्वमा गठन भएको नेकपा एसले एक महिना अगाडि गत भदौ ९ गते निर्वाचन आयोगमार्फत राष्ट्रिय दलको रुपमा मान्यता पाएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ १ गते पार्टीको केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पु¥याएर दल विभाजन गर्न पाउने अध्यादेश ल्याएसँगै एमालेभित्र असन्तुष्ट नेपाल पक्षले भदौ २ गते नै निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको थियो ।

सोही निवेदन बमोजिम भदौँ ९ गते आयोगले नेकपा एसलाई राष्ट्रिय राजनीतिक दलको मान्यता दिएको हो ।

केन्द्रमा राष्ट्रिय दलको मान्यता पाएपछि प्रदेश र स्थानीय तहमा समेत एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले २१ दिनभित्र नेकपा एस रोजेमा बैधानिकता पाउने आयोगको निर्णय अनुसार प्रदेश र स्थानीय तहका धेरै जनप्रतिनिधिहरुले नेकपा एस रोजेका थिए ।

सोही क्रममा रामेछाप जिल्लाको मन्थली नगरपालिका प्रमुख रमेश बस्नेतले पनि नेकपा एकीकृत समाजवादी रोजेका हुन् ।

बस्नेत यसअघि पनि जिल्ला विकास समितिको उपसभापति, सभापति निर्वाचित भएका थिए ।

३० वर्षअघि पनि रामेछापमा राष्ट्रिय पार्टीको मुख्य नेतृत्वमा रहेका बस्नेत फेरि पनि राष्ट्रिय पार्टीको मान्यता पाएको नेकपा एसको मुख्य नेतृत्वमा चयन भएका हुन् ।

प्रकाशित मिति:September 27, 2021