काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मन्त्री बन्नका लागि कुनैपनि प्रकारको लबिङ वा ‘मिडिया ट्रायल’ नगर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएका हुन् ।
सांसदहरूको अभिमुखीकरण कार्यक्रमको समापन गर्दै उनले सरकारमा जाने विषयलाई लिएर बाहिर जथाभावी नबोल्न सचेत गराएका हुन् ।
उनले स्पष्ट पारे, “अहिलेसम्म क–कसलाई मन्त्री बनाउने भन्ने निर्णय भएको छैन, पार्टीले आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र निर्णय हुनेछ।”
पार्टीले प्रत्येक सांसदको क्षमता, दक्षता र संगठनमा योगदान मूल्यांकन गरी निर्णय गर्ने उनले बताए। कुनै पनि पूर्वनिर्धारित सुझाव वा दबाबको आवश्यकता नरहेको उनले बताए।
साथै सभापतिले आफू लोकतान्त्रिक व्यवस्थाप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको र संविधान तथा वर्तमान व्यवस्थामा विश्वास कायम रहेको पनि व्यक्त गरे। उनले आवश्यक सुधारहरू समयानुसार लागू गर्नुपर्ने बुँदामा ध्यान दिने बताए।