काठमाडौं । अभिनेता राजेश हमालको नाममा भ्रष्टाचार गरेको आरोपमा ४ जनाविरुद्ध मुद्दा दायर भएको छ । हमालको नाम प्रयोग गरी वृत्तचित्र निर्माण गर्ने बहानामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्षसहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
गाउँपालिकाले हमालको तस्बिर र नाम प्रयोग गरेर वृत्तचित्र बनाउने भन्दै सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको अख्तियारको ठहर छ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन बमोजिम विशेष अदालतमा गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउद, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह, लेखापाल विमल साउद र डकुमेन्ट्री निर्माणको जिम्मा लिएका आरजे ट्वान्टी फोर न्युज एवं नव इन्द्रेणी फाउन्डेसनका अध्यक्ष रामजी लम्साल (रामबहादुर लम्साल) विरुद्ध अभियोग पत्र दर्ता गरेको हो।
अख्तियारका अनुसार गाउँपालिकाले अभिनेता राजेश हमालको व्यक्तिगत निर्देशन र अभिनय रहने भन्दै वृत्तचित्र निर्माणका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। सो कार्यका लागि सम्झौता गरी १२ लाख ७७ हजार २५० रुपैयाँ भुक्तानी समेत गरिएको पाइएको छ।
यसमा वृत्तचित्र निर्माणको प्रक्रियामा सार्वजनिक खरिद ऐन र नियमावलीको पूर्ण रूपमा उल्लंघन गरिएको, राजेश हमालको नाम जोडिए पनि वास्तविक रूपमा सो कार्यमा उनको संलग्नता वा नियमसंगत प्रक्रिया पूरा नगरिएको र रकम हिनामिना गरिएको अभियोग पत्रमा उल्लेख छ।
अभियोग पत्रमा अख्तियारले गाउँपालिका अध्यक्ष साउदसहितका आरोपीहरूबाट भ्रष्टाचार भएको रकम १२ लाख ७७ हजार २५० रुपैयाँ बिगो असुल गरी हदैसम्मको सजाय माग गरेको छ।
“राजेश हमाल जस्ता प्रतिष्ठित कलाकारको नाम प्रयोग गरेर बिना प्रक्रिया सरकारी कोषबाट रकम भुक्तानी गर्नु सार्वजनिक सम्पत्तिको गम्भीर दुरुपयोग हो,” अख्तियारको आरोपपत्रमा उल्लेख छ।