कोरोना संक्रमित आफै क्वारेन्टाइनमा जानुपर्छ : मन्त्री ढकाल

Nepal Cover
२७ फाल्गुन २०७६, मंगलवार
image

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कुनै व्यक्तिमा कोरोना भाइरस (कोभिड—१९) को आशंका देखिएमा आफै क्वारेन्टाइनमा गएर बस्नुपर्ने बताएका छन् । राष्ट्रिय युवा संघ नेपालको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री ढकालले चीनबाट विद्यार्थी ल्याएर क्वारेन्टाइनमा राखे जसरी नराखिने पनि प्रष्ट पारेका छन् ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार आफै क्वारेन्टाइनमा बस्नुपर्ने भन्दै ढकालले ज्वरो र रुघाखोकी देखिएमा तुरुन्तै अस्पतालमा पुर्याउने जिम्मा सरकारले पूरा गर्ने पनि उल्लेख गर्नुभएको छ । ठूलो समूहमा क्वारेन्टाइनमा राख्नुपर्ने अवस्था आए सरकारले खरीपाटी क्वारेन्टाइनमा राख्ने योजना बनाएको उहाँको भनाई छ ।

‘हरेक मानिसले दिनैपिच्छे ज्वरु आएको छ, छैन भन्ने नाप्न सक्ने, कति दूरी मेन्टेन गर्ने ? के खाने ? परिवारका सदस्यसँग कस्तो व्यवहार गर्ने ? के गर्ने ? के नगर्ने ? भन्नेबारे सरकारले विस्तृत योजना बनाएको बताउँदै मन्त्री ढकालले भने, ‘‘विभिन्न ८ मुलुकबाट आउने नागरिकलाई त्यहाँको चिकित्सकले बढीमा ७ दिन अगाडी कोरोनाको संक्रमण छैन भन्ने प्रमाणित गरेको प्रमाणपत्र भए मात्रै नेपाल प्रवेश हुन्छ, १४ दिन क्वारन्टाइनमा बसेपछि मात्रै सामाजिक जीवनमा संलग्न हुन पाउँछ ।’

सत्तारुढ नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघले सामाजिक सञ्जाल र विभिन्न आम सञ्चार माध्यमबाट गलत सूचना सम्प्रेसण भइरहेको भन्दै आधिकारीक सूचना जारी गर्ने व्यवस्था गर्न स्वास्थ्यमन्त्रीको ध्यान आकर्षण गराएको छ । संघका संयोजक रामप्रसाद सापकोटाका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतीय सीमा नाकाहरुमा स्वास्थ्य चेकजाँचको प्रभावकारी व्यवस्था गर्न मन्त्री ढकालको ध्यान आकर्षण गराइएको हो ।