October 1, 2021
काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेको कार्यलाई विपक्षी दलले स्वागत गरेको छ ।
प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रदेशसभा सदस्य परमेश्वर साहले बुधवार अख्तियारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको अख्तियारको कदमको स्वागत गरेका हुन् ।
एउटा योजनामा मात्रै नभई स्वच्छता अभियान लगायत दर्जनौँ योजनामा भ्रष्टाचार भएको तथ्यलाई महालेखापरीक्षकको प्रतिवेदनले पनि प्रमाणित गरिसकेको अवस्थामा ती सबैमा अख्तियारले छानबिन गर्नुपर्ने उनको भनाइ रहेको छ ।
मुख्यमन्त्रीमाथि गम्भीर आरोपसहित अख्तियारले मुख्यमन्त्री कार्यालयमै आएर छापा मारेपछि नैतिक प्रश्न खडा भएको भन्दै प्रदेशको इज्जत जोगाउनका लागि पनि नैतिकताको आधारमा मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने लोकतान्त्रिक समाजवादी पार्टी नेपाल तथा नेकपा एमाले लगायतका विपक्षी दलहरूले माग गरेका छन् ।
साइकल खरिद प्रक्रियाको मात्र होइन, मुख्यमन्त्री कार्यालयबाट सञ्चालित अन्य योजना तथा प्रदेश सरकारका विभिन्न मन्त्रालयमा समेत छानबिन गरी अनुसन्धान गर्न नेकपा एमालेका संसदीय दलका नेता सत्यनारायण मण्डलले अख्तियारलाई सुझाएका छन् ।
अख्तियारलाई छानबिनमा सहयोग गर्न मुख्यमन्त्रीले तत्काल राजीनामा दिएर सहज बनाउनुपर्ने विपक्षी दलहरूको भनाइ छ ।
यद्यपि उनको दल जसपा नेपालले भने यसबारे केही प्रतिक्रिया दिएको छैन ।
प्रकाशित मिति:October 1, 2021
April 23, 2025
April 23, 2025