पूर्व सभासद अग्रवालको निधनमा पूर्व प्रधानमन्त्री नेपालद्वारा निवासमै पुगेर शोक व्यक्त

  Sampatti News

March 14, 2020

काठमाडौं । वरिष्ठ समाजसेवी तथा तत्कालीन पहिलो संविधानसभाका सभासद प्राध्यापक डाक्टर विश्वनाथ प्रसाद अग्रवालको निधन भएको छ । ७५ वर्षको उमेरमा स्वर्गारोहण हुनुभएका अग्रवाललाई पूर्व प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्र्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले श्रद्दाञ्जली व्यक्त गर्नुभएको छ । शुक्रबार साँझ ११.१५ मा दिवंगत हुनुभएका अग्रवालको निवासमै पुगेर नेता नेपालले श्रद्दाञ्जली दिनुभएको हो ।

नेपालको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गर्नुभएका अग्रवाल जीवनको लामो समय विभिन्न खोज तथा अनुसन्धानमा सक्रिय रहनुभएको थियो । खासगरी कृषि तथा जीव विज्ञानको क्षेत्रमा खोज तथा अनुसन्धानमा सक्रिय रहनुभएका अग्रवालले विभिन्न विषयको अध्यापन गराइने युािभर्सल, काठमाडौं महिला विश्वविद्यालय र महर्षी वाल्मिकी क्याम्पसको (रौतहट, गौर) स्थापना गर्नुभएको थियो ।

समाजसेवा र शिक्षा क्षेत्रका अलवा अग्रवाल राजनीतिमा पनि उक्तिकै सक्रिय हुनुहुन्थ्यो । नेकपाका वरिष्ठ नेता नेपालको सामिप्यतामा रहेर उहाँ वामपन्थी राजनीतिमा जोडिएको पाइन्छ ।

पूर्व सभासद अग्रवालको निधनपछि वरिष्ठ नेता नेपालसहित संघीय संसदको विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्का, नेकपा नेता नागेन्द्र चौधरी, सांसद सरला यादव तथा प्रेस काउन्सिल नेपालका सदस्य गोविन्दप्रसाद चौलागाइँ लगायतले उहाँको सानेपास्थित निवासमै पुगेर श्रद्दाञ्जली व्यक्त गर्नुभएको छ । नेता नेपालले शोकाकुल परिवाजनप्रति समवेदना समेत प्रकट गर्नुभएको छ ।

पारिवारिक श्रोतका अनुसार शनिबार दिउँसो १ बजे अग्रवालको पार्थिव शरीरलाई उहाँका छोराहरु मनोज र दिलिप अग्रवालले दागबत्ती दिएका छन् । अग्रवालका दुई छोरा, एक छोरी राधा र श्रीमती छन् ।

अग्रवालको निधनपछि उहाँलाई श्रद्दाञ्जली दिन विभिन्न राजनीतिक दलका नेता, सांसद, उद्योगी, व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरु पशुपति आर्यघाट पुगेका छन् ।

प्रकाशित मिति:March 14, 2020