अमेरिकाको प्रसिद्ध सहर न्यूयोर्कमा पनि गोल्डस्टारको आउटलेट

Nepal Cover
१२ कार्तिक २०७८, शुक्रबार
image

नेपालको लोकप्रिय जुत्ता गोल्डस्टार अब संयुक्त राज्य अमेरिकामा पनि उपलब्ध हुने भएको छ ।

अमेरिकाको प्रसिद्ध सहर न्यूयोर्कमा पनि गोल्डस्टारको आउटलेट खुल्ला भएसँगै सो स्थानमा पनि नेपाली ब्राण्ड गोल्डस्टार प्राप्त गर्न सकिने भएको हो ।

गोल्डस्टार जुत्ताको निर्माता तथा उत्पादक–वितरक कम्पनी किरण सुज म्यानुफ्याक्चरर्सले संयुक्त राज्य अमेरिकामा हालैमात्र आधिकारिक वितरक नियुक्त गरी अमेरिकी बजारमा आफ्नो बिक्री–वितरण सुरू गर्ने जनाएको छ ।

न्यूयोर्कस्थित गोल्डस्टारको नयाँ आटलेट उद्घाटन गर्दै कम्पनीका अध्यक्ष आमिरप्रताप जबराले गोल्डस्टार जुत्ता अब संयुक्त राज्यभरका निर्दिष्ट स्थानहरूबाट उपलब्ध हुने घोषणा गरे ।

कार्यक्रममा बोल्दै राणाले भने, ‘हामी संयुक्त राज्य अमेरिकामा संसारकै सबैभन्दा अग्लो स्थानमा बनेका डिजाइनहरू ल्याउने कुरामा गर्व गर्दछौं ।’

उक्त अवसरमा ग्रेटर न्यूयोर्क चेम्बर अफ कमर्सका अध्यक्ष तथा सीईओ ज्याफले गोल्डस्टारलाई अमेरिकामा स्वागत गर्न पाउँदा खुशी व्यक्त गरे ।

नेपालमा किरण सु म्यानुफ्याक्चरर्सले सन् १९९० देखि गोल्डस्टार जुत्ताको उत्पादन थालेको हो ।

पछिल्लो पटक विश्वव्यापी डिजाइनहरू नेपालमा प्रवेश गरेपछि गोल्डस्टारले पनि सजगतापूर्वक आफ्ना डिजाइनहरू पुनरावलोकन गरी नयाँ डिजाइनहरू प्रस्तुत गर्न सुरू गरेको छ ।

हाल कम्पनीले उपभोक्ताहरुको आर्थिक अवस्था र बजारको माग अनुरुप जुत्ता उत्पादन गर्दै आएको छ ।

यता उपभोक्ताहरूले पनि गोल्डस्टारलाई एक किफायती ब्रान्डको रुपमा छनौट गरेका छन् । गोल्डस्टारको प्रमुख मोडल ०३२ भेरियन्टले नेपालमा ठूलो चर्चा पाएको छ ।