काठमाडौँ । पश्चिम एशियामा जारी युद्धसम्बन्धी भ्रामक सामग्री सामाजिक सञ्जालमा सेयर गरेको आरोपमा संयुक्त अरब इमिरेट्स, साउदी अरब र कुवेतमा कम्तीमा ७ नेपाली पक्राउ परेका छन्।
इजरायल-अमेरिका र इरानबीच जारी युद्धपश्चात इरानले यूएईमा मिसाइल तथा ड्रोन आक्रमण गर्दै आएको छ । आक्रमणपछि खसेका ड्रोन र मिसाइलका फोटो तथा भिडियो खिच्ने र सामाजिक सञ्जालमा पोस्ट गर्ने कार्यका कारण यूएई प्रहरीले नेपालीहरूलाई नियन्त्रणमा लिएको हो ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार यूएईमा तीन, साउदी अरबमा तीन र कुवेतमा एक नेपाली पक्राउ परेका छन् ।
परराष्ट्र मन्त्रालयले नागरिकहरूलाई फोटो, भिडियो खिच्न र सामाजिक सञ्जालमा पोस्ट नगर्न अनुरोध गर्दै आएको छ । यूएईले यसअघि नै त्यस्ता खालका सामग्री पोस्ट नगर्न चेतावनी जारी गरेको थियो।
यूएईको महान्यायाधिवक्ता कार्यालयको निर्देशनअनुसार पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको छ। दोषी ठहरिएमा उनीहरू एक वर्षसम्म कैद भोग्ने र कैद भुक्तानपछि डिपोर्ट हुने प्रावधान छ। साथै एक लाख यूएई दिरामसम्म जरिवाना गरिने व्यवस्था रहेको छ।