‘अर्ली इलेक्सन’मा जान जरुरी छैन : अध्यक्ष नेपाल

Nepal Cover
१२ कार्तिक २०७८, शुक्रबार
image

सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समयअगावै प्रतिनिधिसभा निर्वाचन (अर्ली इलेक्सन) मा जानु जरुरी नभएको बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा ‘अर्ली इलेक्सन’बारे सञ्चारकर्मीको जिज्ञासामा उहाँले अगावै चुनाव गर्नु आवश्यक नरहेको भन्दै स्थानीय, प्रदेश र सङ्घीय चुनाव एकै पटक गर्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, “किन अर्लीमा जानु ? अर्लीमा जानु जरुरी छैन । मिल्छ कि मिल्दैन छलफल गर्नुपर्ला, कानूनी जटिलता छ की छैन थाहा छैन, पाँच दलमा छलफल भएको पनि छैन तर मलाई लागेको चाँही सबै चुनाव एकैपटक गराउनुपर्छ भन्ने हो ।”

निर्वाचन खर्च र राष्ट्रको सम्पत्ति जोगाउनका लागिसमेत निर्वाचन छुट्टाछुट्टै गर्न नहुनेमा उहाँले जोड दिनुभयो ।

माओवादी केन्द्रसँग तत्काल पार्टी एकता सम्भव नभएको भन्दै अध्यक्ष नेपालले एकीकृत समाजवादीलाई चुनावसम्म बलियो र शक्तिशाली पार्टी बनाइने जिकिर गर्नुभयो ।

“वामपन्थी पार्टी मिलुन्, सबै कम्युनिष्ट एक ठाउँमा आउन् भन्ने चाहना केही व्यक्तिको होला ।

त्यो राम्रो कुरा पनि हो तर माओवादीसँग तत्काल एकता सम्भव छैन । चुनाव अघि हामी एकता होइन यो पार्टीलाई बलियो र शक्तिशाली बनाएर अघि बढ्छौँ ।” उहाँले भन्नुभयो ।

एमालेमा फर्किने कुरामा कल्पना समेत नगरिएको बताउँदै अध्यक्ष नेपालले अहिले एमालेमा बसेकाको बेहाल भएको र भविष्यसमेत नरहेको जिकिर गर्नुभयो ।

एकीकृत समाजवादीलाई विचार र नीतिप्रधान पार्टी बनाउँदै सर्वहारा श्रमजीवी जनताको पार्टीका रुपमा स्थापित गरिने र आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनसँग मिलेर अघि बढ्ने उहाँको भनाइ थियोे ।