“ओली माओवादीकै सहयोगमा दुई पटक प्रधानमन्त्री भएकाले ठुला कुरा नगरेकै बेस !”

  Sampatti News

November 2, 2021

काठमाडौँ-काम योजना भन्दा गफ र उखान टुक्कामा रमाउने पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्री रेनु दाहालले जबाफ फर्काएकी छिन् ।

उनले केपी ओलीलाई माओवादी केन्द्रकै सहयोगमा दुई पटक प्रधानमन्त्री भएकाले धेरै ठुला कुरा नगरेकै बेस होला भनेर भनेकी छिन् ।

रेनु दाहालले आफ्नो सामाजिक सञ्जाल ह्याण्डल मार्फत ‘इतिहासमा दुई पटक प्रधानमन्त्री माओवादी कै सहयोगमा भएकाले ठुला कुरा नगरेकै बेस होला’, भनेर भनेकी हुन् ।

उनले विगतमा ओलीको लागि भोट माग्दै प्रचण्ड झापासम्म पुगेको स्मरण गर्दै दाहालले सोही बेला आफ्नो भाइ गुमाउनु परेको पिडा समेत जाएर गरेकी छिन् ।

‘ओलीलाई भोट माग्न ओलीको क्षेत्रमा ओलीसहित अध्यक्ष प्रचण्ड झापा जाँदा घरमा आमा मात्र, त्यहीपनि पार्किन्सनको बिरामी’, दाहालले भनेकी छिन्, ‘भाइको मध्यरातमा अचानक स्वास्थ्यमा समस्या आई दुःखद घटना घट्यो । घरमा परिवारका सदस्य कोही पनि नभएको बेला र सबै आ–आफ्नो चुनावी मैदानमा । बिरामी आमा मात्र घरमा । के थाहा समयमै अस्पताल लैजान पाएको भए भाइको ज्यान जोगिन पनि सक्थ्यो।’

दाहालले यस्तो परिस्थितिबाट माओवादीसँगको सहकार्यले मात्र ओली प्रधानमन्त्री बनेको जिकिर गरेकी छिन् ।

‘झन्डै दुई तिहाईको सरकार के ओली एक्लैले ल्याएको हो ? हो भने हामीले साथ छोडिदिँदा त सबै गर्ल्यामगुर्लुम ढल्यो त । धेरै नै फुर्ती लाउनेले अब बनाएर देखाए भो त।’

सोमबार चितवनमा आयोजित कार्यक्रममा ओलीले विगतमा आफूले प्रचण्डका लागि दुई दुई पटक भोट माग्नु परेको तर अब त्यस्तो गल्ती नगर्ने बताएका थिए ।

प्रकाशित मिति:November 2, 2021