ओलीलाई धुलो चटाइदिन्छु: माधवकुमार नेपाल

  Sampatti News

November 2, 2021

रौतहट -देस दौडाहामा रहेका नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज दौडाहाकै क्रममा आफ्नो गृह जिल्ला रौतहट पुगेका छन् ।

गृह जिल्ला रौतहटमा (एकीकृत समाजवादी) पार्टीले आयोजना गरेको कार्यक्रममा नेता नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धुलो चटाइदिने बताएका छन् ।

उनले भने, ‘मलाई त उनले भित्तामै पुर्‍याउन खोजे, अहिले आफै नराम्ररी पछारिएका छन्, अब म धुलो चटाइदिन्छु ।’

ओली बिरुद्ध निकै आक्रामक रुपमा प्रस्तुत भएका नेता नेपालले ओलीलाई गफाडीको संज्ञा दिएका छन् ।

चितवनमा एक साताभित्र सरकार ढाल्ने चेतावनी दिएकोप्रति लक्षित गर्दै नेता नेपालले भने एक हप्तामा सरकार ढाल्ने रे आफै ढलेर उठ्न सक्या छैनन् । नेपालले भने ‘ओलीजी त चन्द्रमा पुगिसक्नु भयो सरकार ढल्यो र मात्रै नत्र देस पनि चन्द्रमामा बसाल्ले गफ थियो ओलीको । अब केही बाँकी छैन् ओली उठ्नै नसक्ने गरी पछारिएका छन् वर्वराउदै हिड्छन्,’ ।

ओलीले चुनाव ताका तथा त्यस पश्चात दिएका गफको उदाहरण दिदै नेता नेपालले भने ‘उनी लास्टै गफाडी हुन् । उनका कुराहरु टिपोट गर्दै जानुस् । ओलीले बोलेका केके कुराहरु पूरा गरे ? त्यो पनि टिपोट गर्नुहोला ।,’ उनले घरघरमा ग्यास बाल्दिसके । ‘अहिले नेपालमै पेट्रोलियम तेल उत्पादन भैसक्यो विश्वमा नेपालले तेल निर्यात गर्छ । पानी जहाज सञ्चालन गरिसके । जहाज चढ्न टिकट काटिसक्नु भयो होला । अब त्यो टिकटको पैसा फिर्ता माग्नुस् ।’

उनले सर्वोच्च अदालतमा अहिले देखिएको समस्याको मुख्य जड ओली रहेको बताउदै प्रधानमन्त्री शेरबहादुर देउवा विदेशबाट आएलगत्तै पाँच दलको बैठक बसेर सर्वोच्च अदालतको समस्याको निकाश दिने जानकारी गराए ।

प्रधानमन्त्री शेरबहादुर देउवा विदेश भ्रमणका कारण गठबन्धनबीच छलफल हुन नपाएकाले अदालतबारे ठोस निर्णय लिन नसकेको उनले जानकारी गराए ।

नेता नेपालले भने ‘अहिले प्रधानमन्त्री पनि बाहिर हुनुहुन्छ । हामी गठबन्धनका साथीहरु बसेर सर्वोच्च अदालतबारे केही सल्लाह गर्नैै पाएका छैनौं,’ उनले भने, ‘अदालतको मामलामा कतिसम्म र के गर्ने भन्ने चाँडै टुग्याउँछौँ । सम्मानजनक निकाश दिन्छौँ ।’

सर्वोच्च अदालतमा देखिएको समस्या पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै उपजका कारण भएको आरोप उनले लगाए ।

भेटघाट कार्यक्रममा अध्यक्ष नेपालले संसदीय चुनावका बेला मेरा पक्षका मानिसलाई टिकट दिँदा ओलीले पूर्वाग्रह राख्ने र पत्तासाफ गर्न लागिपरेको स्मरण गरे ।

अहिलेको गठबन्धनबीचको सहकार्य आगामी चुनावसम्म कायम रहने सहमती रहेको अध्यक्ष नेपालले बताए ।

चुनावमा तालमेलको बिषयमा भने नेता नेपालले अहिले नै भन्न नसकिने छोटो टिप्पणी गरे । उनले भने ‘चुनाव आउँनै बाँकी छ । त्यही बेला तालमेल गर्ने नगर्ने भन्ने निष्कर्षमा पुगौँला,’ । प्रदेश सरकारमा आफूहरुको वर्चश्व कायम रहेको उनको भनाइ थियो ।

पुर्व प्रधानमन्त्री नेपालले आफ्नो गृह जिल्ला रौतहटको चन्द्रनिगाहपुर तथा गौरमा ठुलो संख्यामा सहभागी भएका अगुवा कार्यकर्ताहरुलाई दिपावली तथा छठको अबसरमा शुभकामना आदान प्रदान गरेका थिए ।

साथै उक्त कार्यक्रममा एकिकृत समाजवादीका पोलिटब्युरो सदस्य राम कुमार भट्टराई, प्रदेश न २ का नेता तथा गौर नगरपालीका मेयरका प्रत्यासी तथा समाजसेवी शम्भु साह लगायतले पार्टी फुट्नु पर्ने कारण र समाजवादीलाई स्थापित गर्नुपर्ने औचित्य पुष्टी गर्दै उपस्थितलाई शुभकामना दिनु भएको थियो ।

प्रकाशित मिति:November 2, 2021