विद्यालय तहबाटै अनेरास्ववियुमार्फत राजनीतिक यात्रा सुरु गरेका मुख्यमन्त्री राई

  Sampatti News

November 3, 2021

काठमाडाैँ-प्रदेश नं १ मा तीन वर्ष नौ महिनाको अवधिमा आज तेस्रो मुख्यमन्त्रीका रूपमा नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्रकुमार राईले पद तथा गोपनीयताको शपथ लिनुभयो ।

यसअघि प्रदेशमा पहिलो मुख्यमन्त्रीका रूपमा नेकपा एमाले संसदीय दलका नेता शेरधन राई र उहाँले राजीनामा दिएपछि दोस्रो मुख्यमन्त्रीका रूपमा नेकपा एमाले संसदीय दलका नेता भीमप्रसाद आचार्यले गएको भदौ १० गते मुख्यमन्त्री पदको शपथ लिनुभएको थियो ।

आचार्यले विश्वासको मत लिनसक्ने अवस्था नरहेपछि हिजै राजीनामा दिएपछि मुख्यमन्त्री बन्नुभएको राजेन्द्र राई नेकपा (एकीकृत समाजवादी), नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको साथ तथा सहयोगबाट मुख्यमन्त्री बन्नुभएको हो ।

नवनियुक्त मुख्यमन्त्री राईको जन्म विसं २०२७ असार १५ मा भोजपुरको किमलुङ गाविस हाल षडानन्द नगरपालिका–१० सुर्केमा भएको थियो ।

बुबा नरेन्द्रबहादुर राई र आमा धनकुमारी राईका चार सन्तानमध्ये कान्छा सदस्य उहाँले विद्यालय तहबाटै अनेरास्ववियुमार्फत राजनीतिक यात्रा सुरु गर्नुभएको हो ।

विद्यालयको अखिल एकाइ सचिवबाट सुरु गर्नुभएको राजनीतिक यात्रा त्यही सङ्गठनको राष्ट्रिय अध्यक्ष हुँदै प्रदेश १ को मुख्यमन्त्रीसम्म हुनुभएको छ ।

विसं २०४३ मा प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि उहाँले लगातार रत्नराज्य लक्ष्मी क्याम्पस काठमाडौँमा पढेर त्यहीँबाट राजनीतिशास्त्रमा स्नात्तकोत्तर गर्नुभएको छ ।

एमाले अखिलको केन्द्रीय सदस्य, सचिव, महासचिव हुँदै उहाँ पहिलोपटक २०५७ सालमा अखिल अध्यक्ष बन्नुभएको थियो । उहाँ दुई कार्यकाल लगातार अध्यक्ष हुनुभएको थियो ।

लामो समय अखिल राजनीतिमा सक्रिय उहाँले पहिलोपटक २०६८ मा पार्टी केन्द्रीय सदस्यमा मनोनीत भएर पार्टीमा सक्रियता बढाउँदै लैजानुभयो ।

उहाँ विसं २०७१ मा सम्पन्न एमालेको नवौँ महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो ।

माधवकुमार नेपालको प्रधानमन्त्रीत्वकालमा राजनीतिक सल्लाहकारको भूमिका निर्वाह गर्दै उहाँ २०७४ को प्रदेशसभा निर्वाचनमा भोजपुरबाट निर्वाचित हुनुभएको थियो ।

पञ्चायतकालमा सात महिना केन्द्रीय कारागारमा बन्दी जीवन बिताउनुभएका उहाँले शाहीकालमा पनि चार महिना प्रहरी तालिम केन्द्रमा बन्दी जीवन बिताउनुभएको थियो ।

माओवादी द्वन्द्वकालमा २०६० सालमा माओवादीले भोजपुरको घरबाटै अपहरणमा परी एक सातासम्म माओवादी कब्जामा रहनुभएको थियो ।

प्रकाशित मिति:November 3, 2021