अरुणबाट उत्पादित विद्युत्ले नेपालको अर्थतन्त्र मजबुद बनाउँछ: अर्थमन्त्री शर्मा

  Sampatti News

November 3, 2021

काठमाडौँ-अर्थमन्त्री जनार्दन शर्माले सङ्खुवासभाको अरुण नदीबाट उत्पादित विद्युत्ले नेपालको अर्थतन्त्र मजबुद बनाउने बताउनुभयो ।

खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयमा मङ्गलबार आयोजित कार्यक्रममा मन्त्री शर्माले अरुणबाट उत्पादित विद्युत्ले नेपालको व्यापार घाटा कम गर्न मद्दत पुग्ने बताउनुभयो ।

नेपालको अर्थतन्त्र मजबुद बनाउन नेपाल सरकारको लगानीमा माथिल्लो अरुण, किमाथाङ्का अरुण निर्माण गर्न लागिएको सो अवसरमा उहाँले जानकारी दिनुभयो ।

“अपर अरुणलगायत थुप्रै आयोजनामा सरकारले लगानी गर्दैछ”, मन्त्री शर्माले भन्नुभयो ।

व्यापार घाटा कम गर्न सक्ने स्रोत–साधन सङ्खुवासभामा रहेका कारण सरकारले लगानी बढाउने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

अरुणमा जलविद्युत् आयोजना निर्माण गर्न सरकारी कम्पनीलाई जिम्मा दिएर काम अघि बढाउन पहल गरिरहेको मन्त्री शर्माको भनाइ थियो ।

प्रकाशित मिति:November 3, 2021