मुख्यमन्त्री राजेन्द्र राईले पूर्व सरकारले गरेका निर्णय खारेज गर्ने

  Sampatti News

November 3, 2021

मोरङ-प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पूर्वमुख्यमन्त्री भीम आचार्यको सरकारले गरेका निर्णय तथा नियुक्ति खारेजी गर्ने भएको छ।

नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईको नेतृत्वमा प्रदेश १ मा नयाँ सरकार गठन भएसँगै बनेको मन्त्रिपरिषद्ले पूर्वसरकार निर्णय खारेजी प्रक्रियामा लाने लगायत विभिन्न ३ वटा निर्णय गरेको हो ।

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार राती सम्पन्न बैठकले भीम आचार्य नेतृत्वको सरकार गठन भएपछि भएका विभिन्न नियुक्ति, सरुवा तथा निर्णयलाई खारेजीको प्रक्रियामा लैजाने निर्णय गरेको छ।

बैठकले आचार्य नेतृत्वको सरकार गठन असंवैधानिक भएको हुँदा उक्त समयमा गरिएका सबै निर्णय खारेजीतर्फ लैजाने जनाएको छ ।

आचार्य नेतृत्वको सरकारले प्रदेश पर्यटन बोर्ड, प्रदेश श्रम सल्लाहकार, प्रदेश खेलकुद बोर्ड गठन गर्नुका साथै विभिन्न मन्त्रालयमा भएका कर्मचारीहरुको सरुवा, अस्थायी कर्मचारीको म्याद थपलगायतका निर्णय गरेको थियो।

त्यस्तै बैठकले प्रदेशका १३७ स्थानीय तहबाट सिमान्तकृत, दलित र विपन्न तथा अल्पसंख्यकलाई प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको छ।

लोपोन्मुख संस्कृति संरक्षणको लागि कार्यविधि तर्जुमा गर्ने निर्णयसमेत बैठकले गरेको सामाजिक विकासमन्त्री जयराम यादवले जानकारी दिए।

प्रकाशित मिति:November 3, 2021