लाखौं युवाहरु हाम्रो पार्टीमा आकर्षित छन् : अध्यक्ष नेपाल

  Sampatti News

November 4, 2021

काठमाडौ । नेकपा (एकीकृत समाजवादी) रौतहट–काठमाडौ सम्पर्क मञ्चको आयोजनामा आज देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ ।

शुभ दिपावली २०७८ को सुखद अवसरमा राजधानीको कोटेश्वरस्थित पार्टी अध्यक्ष माधवकुमार नेपालकै निवासमा देउसी भैलो कार्यक्रम सम्पन्न गरिएको मञ्चले जनाएको छ ।

देउसी भैलो कार्यक्रममा अध्यक्ष नेपालले शुभ दिपावलीको अवसरमा रौतहट जिल्लाबासी लगायत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभयो ।


कार्यक्रममा बोल्दै नेता नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीको देशभर तीव्र गतिमा संगठन विस्तार कार्य भईरहेको बताउनुभयो ।

उहाँले विधि, विधान र पद्दतिमा विश्वास गर्ने लाखौं लाख युवाहरु आफ्नो पार्टीमा आकर्षित हुन थालेको दाबी समेत गर्नुभयो ।

उहाँले आफ्नो पार्टीबाट मन्त्री बनेका नेताहरुले सरकारमा सहभागि भएको छोटो समयमै जनताले अनुभूति हुने गरी काम गर्न थालेको बताउनुभयो ।

अध्यक्ष नेपालले पर्यटन मन्त्रालय, स्वास्थ्य मन्त्रालय र शहरी विकास मन्त्रालय अन्र्तगतका मन्त्रालयहरु चलायमान हुन थालेको जिकिर गर्नुभयो ।

उहाँले निजगढ विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाउन समेत सरकारसमक्ष आग्रह गर्दै भन्नुभयो–‘निजगढ विमानस्थल सञ्चालनमा आएमा प्रदेश नं.२ को आर्थिक समृद्धि हुनेछ ।’


देउसी भैलो कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य एवं विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्का, पार्टीका पोलिटव्यूरो सदस्य रामकुमार भट्टराई, वंगलादेशका राजदूत डा. वंशिधर मिश्र, अर्थविद् डा. चन्द्रमणि अधिकारी, पार्टीका केन्द्रीय सदस्य एवं विज्ञान प्रविधि विभागका प्रमुख इ. सरोजकुमार उपाध्याय, वरिष्ठ इन्जिनियर धर्मेन्द्र झा, नेपाल पत्रकार महासंघका सचिव गोविन्दप्रसाद चौलागाईं, नेकपा एकीकृत समाजवादी नुवाकोटका उपाध्यक्ष तथा युवा नेता केपी लामिछाने, कर्मचारी ट्रेड युनियनका अध्यक्ष भोला पोखरेललगायत केन्द्रीय सदस्य भिष्म दाहाल र श्याम सापकोटा, प्रदेश नं. २ नेकपा एकीकृत समाजवादीका अध्यक्ष बेदनाथ कोइराला, मञ्चका पूर्व अध्यक्षहरु नवराज तिमल्सिना, गोपाल श्रेष्ठ, गिरिधर मिश्र, चिन कुमारी शिवाकोटी, शंकर विश्वकर्मा, उद्योगपतिहरु लक्ष्मीनारायण चौधरी, प्रमोद चौधरी, वरिष्ठ प्रहरी उपरीक्षक प्रदीपकुमार श्रेष्ठ लगायत बुद्धिजीवि, समाजसेवी, कलाकार, पत्रकार, सम्पर्क मञ्चका अध्यक्ष सचिनकुमार कुइँकेल, रौतहट घर भई राजधानीमा कर्मथलो बनाएका सयौं व्यक्तित्वहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

देउसी भैलो कार्यक्रमबाट संकलित रकम विगत देखि नै रौतहटबाट काठमाडौ आई बसोबास गर्ने विरामी र समस्यामा परेकाहरुलाई आर्थिक सहयोग गर्ने परम्परा रहेकोले यस वर्ष संकलन भएको रकम पनि सोही कार्यमा खर्च गरिने मञ्चका अध्यक्ष कुइँकेलले जानकारी गराउनुभयो ।

यस वर्षको देउसी भैलो कार्यक्रममा झण्डै दुई लाख ५० हजार रुपैँया संकलन भएको मञ्च पदाधिकारी सुधान्ंशुकुमार मिश्रले सम्पत्ति न्यूजलाई बताउनुभयो ।

प्रकाशित मिति:November 4, 2021