November 12, 2021
प्रम देउवा र कानुनमन्त्री बडूबिच न्यायालयको बिषयमा छलफल
काठमाडौँ-न्यायालयको विवाद लम्बिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा र कानुनमन्त्री दिलेन्द्र बडूबिच बालुवाटारमा छलफल भएको छ ।
शुक्रबार विहान देउवाले कानुनमन्त्री बडूलाई बालुवाटार बोलाएर छलफल गरेका हुन् ।
विहीबार वरिष्ठ अधिवक्ताहरूलाई कानुनमन्त्रीसँग भेटवार्ता गरेपछि देउवाले बडूलाई बालुवाटार बोलाएर छलफल गरेका हुन् ।
विहीबार कानुन मन्त्रालयमा पुगेर वरिष्ठ अधिवक्ता, राधेश्याम अधिकारी, हरिहर दाहाल, बारका पूर्व अध्यक्ष प्रेम खड्का र महान्यायधीवक्ता खमबहादुर खाती, पूर्णमान शाक्य लगायतले कानुनमन्त्री बडूसँग भेटवार्ता गरेका थिए ।
उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्र जबरालाई पदच्युत गर्न सरकारले अग्रसरता देखाउनुपर्ने माग राखेका थिए ।
तर बडूले अदालतको विषयमा संविधानको दायराभित्र रहेर सरकारले अगाडि बढ्ने बताएका थिए ।
न्यायालयमा देखिएको विवादलाई नजिकबाट नियालिरहेको भन्दै जनता न्याय पाउनबाट बन्चित भएकोमा सरकारको ध्यानाकर्षण भएको बताएका थिए ।
नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई शुक्रबार सर्वोच्च अदालतमा प्रवेश गर्न नदिने घोषणाका साथ धर्ना दिइरहेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा भने वकिलहरूको अवरोध छिचोल्दै सर्वोच्च अदालत प्रवेश गरेका छन् ।
उनी सर्वोच्च अदालतको १ नम्बर गेट हुँदै १० बजेर ५२ मिनेट जाँदा अदालत प्रवेश गरेका हुन् ।
नेपाल बार एसोसिएसनका वकिलहरूले सर्वोच्चको मुख्य गेटमा धर्ना दिँदै उनलाई प्रवेश गर्न नदिएपछि उनी चोरबाटो हुँदै अदालत प्रवेश गरेका हुन् ।
बार एशोसिएशनको आन्दोलनकै कारण प्रधानन्यायाधीश जबराले शुक्रबार आफूलाई इजलासमा राखेका छैनन् ।
बार एशोसिएसनले शुक्रबार सर्वोच्च अदालतका सबै इजलास बहिष्कार गर्ने घोषणा गरेको छ ।
बिहीबार सर्वोच्च परिसरमा प्रहरीले कानुन व्यवसायीमाथि गरेको हस्तक्षेपको विरोधमा शुक्रबार बार एशोसिएसनले बन्दी प्रत्यक्षीकरणसहित सबै मुद्दाका बहसमा सहभागी नहुने घोषणा गरेको हो ।
प्रम देउवा र कानुनमन्त्री बडूबिच न्यायालयको बिषयमा छलफल
प्रकाशित मिति:November 12, 2021