रामचन्द्रले बोलाएको बैठक प्रकाशमानद्वारा वहिस्कार

  Sampatti News

November 12, 2021

रामचन्द्रले बोलाएको बैठक प्रकाशमानद्वारा वहिस्कार

काठमाडौं-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बोलाएको बैठक पूर्व महामन्त्री प्रकाशमान सिंहले वहिस्कार गरेका छन् ।

यस अघि पौडेल समूहसँग लगातार छलफल गरिरहेका सभापतिका आकांक्षी सिंह पछिल्लो समय पौडेल समूहसँग असन्तुष्ट बनेका छन् ।

असन्तुष्ट सिंहले आज दिउसो २ बजेका लागि पौडेल समूहले बोलाएको बैठकमा आफू उपस्थित नहुने जानकारी गराएका छन्।

वरिष्ठ नेता पौडेल गठबन्धन दलको समन्वय समितिको संयोजक बनेपछि सभापति शेरबहादुर देउवाको कार्यकर्ता भएको टिप्पणी गरेका थिए।

सरकारका कामकाजमा सहज बनाउन भन्दै सत्तारुढ दलहरुले कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा समन्वय समिति बनाएपछि नेता सिंहको यस्तो किसिमको धारणा आउनुलाई धेरैले महाधिवेशनसग जोडेर हेरेका छन् ।

सिंहले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा बनाईएको राजनीतिक समन्वय समितिको विरोध समेत गरेका छन् ।

सिंहलाई उद्धृत गर्दै एक नेताले पौडेलको कुनै समूह नरहेको र देउवाको विकल्पमा आफूले कांग्रेस सुदृढीकरण अभियान चलाउने बताएको जानकारी दिए।

सिंहले पौडेल समूहमा पछिल्लो समय सामूहिक छलफल नहुने र एकलौटी हुने गरेको पनि आरोप लगाएका छन्।

पार्टीको १३ औं महाधिवेशनमा पौडेल सभापति लड्दा प्रस्तावक रहेका सिंह १४ औं महाधिवेशनमा भने पौडेलको साथ छोडेर आफ्नो छुट्टै समूह बनाउने योजनामा रहेको ति नेताले बताए।

पछिल्लो समय पौडेल र सिंहका बीच दूरी बढ्दै गएको छ। आफूले सभापतिमा सघाए पनि पौडेलले अहिले सहयोग नगरेको सिंहको गुनासो छ।

पछिल्ला केही सार्वजनिक कार्यक्रमहरुमा सिंहले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेल दुवैले पार्टी हाँक्न नसक्ने टिप्पणी गर्दै आएका छन्।

रामचन्द्रले बोलाएको बैठक प्रकाशमानद्वारा वहिस्कार

प्रकाशित मिति:November 12, 2021