भारत भ्रमण सकेर प्रधान सेनापति शर्मा स्वदेश फिर्ता

  Sampatti News

November 13, 2021

भारत भ्रमण सकेर प्रधान सेनापति शर्मा स्वदेश फिर्ता

काठमाडौं-प्रधान सेनापति प्रभुराम शर्मा चार दिने भारत भ्रमण सकेर शुक्रबार स्वदेश फिर्ता भएका छन् ।

गत २३ गते भारतीय स्थल सेनाध्यक्ष जनरल एम एम नरवणेको औपचारिक निमन्त्रणमा भारत प्रस्थान गरेका थिए ।

भारत भ्रमणका क्रममा उनलाई भारतका राष्ट्रपति राम नाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जा प्रदान भएको थियो ।

भारतीय राष्ट्रपति कार्यालयमा सुशोभन समारोहको नै आयोजना गरी प्रधान सेनापति शर्मालाई उक्त दर्जा प्रदान गरिएको हो ।

यसैगरी भ्रमणको क्रममा प्रधानसेनापति शर्माले भारतका स्थल सेनाध्यक्ष जनरल एम एम नरवणे, रक्षासचिव अजय कुमार लगायतसँग पनि भेटघाट तथा छलफल गरेका थिए ।

त्यसैगरी उनले भारतीय रक्षामन्त्री राजनाथ सिंह, विदेश मन्त्री डा.एस. जयशंकर तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका थिए ।

भ्रमणकै क्रममा उनले नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कलेजको निरीक्षण भ्रमण समेत गरेको र उनलाई उक्त कलेजमा सम्मानसमेत गरिएको नेपाली सेनाले जनाएको छ ।

उहाँलाई उक्त अवसरमा कलेजको “Wall of Honor” मा induct गरी सम्मानित गरिएको थियो ।

यसरी “Wall of Honor” मा induct हुने सम्मान प्राप्त गर्ने उहाँ पहिलो व्यक्ति हुनु हुन्।

यो सम्मान आफ्नो क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गर्ने उक्त कलेजका Alumni हरुलाई मात्र दिइने गरिन्छ ।

महारथी शर्माले सन २०१३ मा उक्त कलेजबाट National Defense Course (NDC) गरेका थिए ।

दुई देशबीचको उच्च सैनिक नेतृत्वको भ्रमण र दुई देशका सेनाका प्रधान सेनापतिलाई मानार्थ महारथीको उपाधि दिने प्रथा बिगत लामो समयदेखि चल्दै आएको छ ।

यता स्वदेश फर्किने क्रममा प्रधान सेनापति शर्मालाई बलाधिकृत रथी बालकृष्ण कार्कीले गौचरस्थित नेपाली सेनाको मध्य एयर बेसमा स्वागत गरेका थिए ।

त्यस्तै आज कात्तिक २८ गते शनिबार प्रधान सेनापति शर्मालाई सम्मान गर्नका लागि नेपाली सेनाले जङ्गी अड्डामा गारत अर्पण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

प्रकाशित मिति:November 13, 2021