निरङ्कुशताका विरुद्ध डटेर लाग्न अध्यक्ष नेपालको निर्देशन

  Sampatti News

November 13, 2021

निरङ्कुशताका विरुद्ध डटेर लाग्न अध्यक्ष नेपालको निर्देशन

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आदर्शलाई अवलम्बन गर्ने सबैले निरङ्कुशताका विरुद्ध डटेर समतामूलक समाज निर्माणमा लाग्नुपर्ने बताउनुभएको छ ।

समाजवादी प्रेस सङ्गठन नेपालको पदाधिकारी तथा केन्द्रीय सदस्य घोषणासभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले सामाजिक न्याय तथा समानताको पक्षमा क्रियाशील हुन सबै पार्टी पङ्क्तिलाई निर्देशन दिनुभयो ।

अध्यक्ष नेपालले अहिले कम्युनिट आन्दोलनलाई कमजोर बनाउन कम्युनिष्ट नामका दलहरु सक्रिय रहेकाले शुद्ध आचरणका साथ जनताका समस्यालाई केन्द्रमा राखेर यथार्थपरक सूचना प्रवाह गर्न सुझाव दिनुभयो ।

पत्रकारले समाजमा भएका राम्रो कामको उत्खनन गर्ने र गलत कामको भण्डाफोर गर्नुपर्ने बताउँदै उहाँले राष्ट्रिय एकताको पक्षमा कलम चलाउँदै अनुचित काम गर्नेलाई पनि नछाड्न उल्लेख गर्नुभयो ।

“समाजवादी आदर्शबाट अगाडि बढ्नुस्, गलत कामलाई गलत भन्नुस्, पत्रकारिताको राम्रो आचरण विकास गर्नुहोस्”, उहाँले भन्नुभयो ।

अध्यक्ष नेपालले देशमा विभिन्न किसिमका भ्रष्टाचार, शोषण उत्पीडन र विकृति विसङ्गति मौलाइरहेको उल्लेख गर्दै पत्रकारले पनि त्यसखालका विकृति विसङ्गतिविरुद्ध कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।

पछिल्लो समय देशभर समाजवादी पार्टीमा आकर्षण बढेको र प्रवेश गर्नेहरुको लहर चलिरहेको आफ्नो पार्टीले दक्षिणपन्थी र प्रतिगमनविरुद्धको लडाइँ लडिरहेको पनि उहाँले बताउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले समाजमा हुने कुनै पनि घटनाक्रम तथा विषयवस्तुलाई जनतासमक्ष पुर्‍याउन सङ्गठित प्रेसको खाँचो रहेको उल्लेख गर्दै मुलुकको राजनीति, शान्ति प्रक्रिया, वैदेशिक सम्बन्धका समाचार सम्प्रेषण गर्दा संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।

निरङ्कुशताका विरुद्ध डटेर लाग्न अध्यक्ष नेपालको निर्देशन

प्रकाशित मिति:November 13, 2021