न्यायाधीशहरु इजलासमा बस्न राजी

  Sampatti News

November 19, 2021

न्यायाधीशहरु इजलासमा बस्न राजी

काठमाडौँ-सर्वोच्च अदालतका न्यायाधीशहरु शुक्रबार इजलासमा बस्ने भएका छन् ।

लामो समयदेखि ईजलास बहिष्कार गरि प्रधानन्यायाधीशको राजिनामा माग गरिरहेका न्यायाधीशहरु इजलासमा बस्ने भएका हुन् ।

बिहीबार सर्वोच्चको पूर्ण वैठकबाट नियमावली संशोधनको प्रस्ताव पारित भएपछि उनीहरु इजलासमा बस्न राजी भएका हुन् ।

न्यायाधीशहरुको माग अनुसार शुक्रबारका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले निवेदन, तामेली र बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्रै पेसीमा राखेपछि न्यायाधीशहरु इजलासमा बस्न राजी भएका हुन् ।

शुक्रबारका लागि प्रधानन्यायाधीश जबराले २२२ वटा रिट निवेदन पेसीमा राखेका छन् ।

जसका लागि ९ वटा संयुक्त इजलास र एउटा एकल इजलासमा पेसी तोकिएको छ ।

शुक्रबारका लागि न्यायाधीशद्वय दीपककुमार कार्की र प्रकाश मान सिंह राउत, मीरा खड्क र सुष्मालता माथेमा, हरिकृष्ण कार्की र हरिप्रसाद फुयाल, विश्वम्भरप्रसाद श्रेष्ठ र टंकबहादुर मोक्तान, आनन्दमोहन भट्टराई र कुमार रेग्मी, अनिलकुमार सिन्हा र सपना प्रधान मल्ल तथा तेज बहादुर केसी र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलास गठन गरिएको छ ।

न्यायाधीश नहकुल सुवेदीका लागि भने एकल इजलास तोकिएको छ ।

यी सबै पेसीमा तामेलीका लागि दिइएको निवेदन,बन्दी प्रत्यक्षीकरण वा थुनुवासम्बन्धी मुद्दा रहेका छन् ।

शुक्रबार प्रधानन्यायाधीश जबराले आफूलाई भने इजलासमा राखेका छैनन् ।

प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद सदस्यको भागबण्डामा मुछिएपछि नेपाल बार एशोसिएसनको अगुवाइमा कानून व्यवसायीहरु सहित न्यायाधीशहरु समेत अन्दोलित भएका थिए ।

कानून व्यवसायीहरु भने अझै पनि प्रधानन्यायाधीशको राजिनामा माग्दै प्रदर्शन गर्दै आएका छन् ।

प्रकाशित मिति:November 19, 2021