November 19, 2021
एमसीसीविरुद्ध माओवादी केन्द्र समाजवादीले आमसभा गर्ने
काठमाडौं-कर्णजित बुढाथोकीको नेतृत्वको नेकपा (माओवादी केन्द्र समाजवादी)ले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि)को विरुद्ध खबरदारी गर्न भोली खुलामञ्चमा विशाल आमसभा गर्ने भएको छ ।
आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर राष्ट्रघाती एमसीसी खारेजीको मागको लागि आयोजना गरिएको आमसभाको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिइएको हो ।
पार्टीले भोली (मंसिर ४ गते) बिहान ११ बजे खुलामञ्चमा उपस्थित् भई एमसीसीको खारेजीको माग गर्न पनि सबैलाई आग्रह गरेको छ ।
कार्यक्रममा बोल्दै पार्टीका महासचिव नरेश शाहीले भोलिदेखि हुने आन्दोलनको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिए ।
उनले राष्ट्रघातबाहेक केही गर्न नसक्ने नवदलाल पुँजीवाद संसदीय सत्ता व्यवस्थाका भाइरसहरुले राष्ट्रघातकै निरन्तरतामा एमसीसी फेरी हाम्रो स्वाधिन राष्ट्रमाथि थोपार्न खोजेको आरोप लगाए ।
असफल सत्ता व्यवस्थाको सही र वैज्ञानिक विकल्प दिन राष्ट्रिय राजनीतिक जनपरामर्श सम्मेलन गरि सर्वपक्षीय सर्वदलिय संयुक्त राष्ट्रिय सरकार र कम्युनिष्ट सम्मेलन सम्पन्न गर्नुपर्ने आवश्यकता देखिएको समेत जिकिर गरे ।
शनिबार खुलामञ्चमा गर्न लागेको एमसीसीको खारेजीको लागि आफ्नो उपस्थिति जनाएर सहयोग गरिदिन सबैलाई आग्रह गरे ।
उनले जनसभामा करिब २० हजारको संख्याको उपस्थिति हुने आंकलन समेत सुनाए । जनसभामा विभिन्न झाकीसहितको उपस्थिति हुने जनाए ।
एमसीसीविरुद्ध माओवादी केन्द्र समाजवादीले आमसभा गर्ने
प्रकाशित मिति:November 19, 2021